काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका -२ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ । पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहका बिच संघका उपाध्यक्ष सोनाम लामाले ५ लाख आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा संघका उपाध्यक्ष सोनाम लामाले वर्तमान कोभिड १९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैर आवासीय नेपाली पनि प्रभावीत बनेको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साट्टासाट्टा गर्न मात्र आएको बताउनुभयो । उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड १९ को परिस्थिति सहज भए पछि सरकारसँग समन्वय गरेर जाने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले गैर आवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताउनुभयो । सो कार्यक्रममा एनआरएनएको तर्फबाट बहराइनका पूर्व अध्यक्ष श्याम तामाङ, जुगल गाउँपालीका उपाध्यक्ष सिर्जना तामाङ र पीडितहरुको सहभागिता थियो ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्याउँदा १५६ भन्दा बढी मानीसहरु प्रभावीत भएका छन् ।

प्रकाशित | १७ भाद्र २०७७, बुधबार १२:५४