विदेशमा कोरोना संक्रमणबाट मुक्त हुने नेपालीको संख्या ३२ हजार ५ सय ११ पुग्यो

काठमाडौं – विदेशमा कोरोना संक्रमीतमध्ये धेरैजसो नेपाली निको भएका छन् । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको गैर आवासीय नेपाली संघ अन्तरगतको स्वास्थ्य समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार पछिल्लो समय साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो । हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

त्यस्तै, विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ ।स्वास्थ्य समितिका अनुसार विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको निधन भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो ।

कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।


प्रकाशित | १४ भाद्र २०७७, आईतवार १२:०३