पोखरा: विश्व कार्वन फोरम २०१९ को अवसरमा पोखरा महानगरपालिका, दक्षिण कोरियाको ग्याङ्वोन प्रान्त र त्यहाँकै हरित टेक्नोलोजी केन्द्रबीच त्रीपक्षीय साझेदारी सम्झौता भएको छ ।
सम्झौता पत्रमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, ग्याङ्वोन प्रान्तको गभर्नर मुनसुन चोइ तथा केन्द्रका प्रमुख कार्यकारी निर्देशक क्युङ नाम सिनले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौतामा पोखरामा हरियालीसहितको यातायात पूर्वाधार निर्माणको परियोजनालाई महत्व दिएको छ । स्मार्ट वातावरणमैत्री पर्यटन, स्मार्ट शहरका प्रविधिहरु, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान र पोखराको संस्थागत विकासका लागि कार्य गर्ने बताइएको छ । केन्द्रले यसअघि भुटान, युगान्डा लगायतका देशमा सञ्चालन गरेका परियोजनाहरु सफल भएका छन् ।
सम्झौतापछि तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरीतगृह ग्यासको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । सो अवसरमा पोखराका प्रमुख जिसीले नेपालमा लगानीमैत्री बातावरण बनिसकेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्दै हरितगृह ग्यासको उत्पादन कम गर्न नेपाल कटिबद्ध रहेको बताउनुभयो । पोखरामा यो परियोजना सफल भएमा पोखराको यातायात गुरुयोजना तयार भई कार्यान्वयनमा समेत अगाडि बढ्ने उहाँको भनाइ थियो ।
प्रकाशित | २० भाद्र २०७६, शुक्रबार ०८:५६