काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं – काठमाडौं उपत्यकामा एक साता गरिएको निषेधाज्ञा थपिने भएको छ । एक साताको निषेधाज्ञामा कोरोना नियन्त्रणमा ल्याउने प्रयास गरिए पनि उपत्यकामा संक्रमण दर उच्च गतिमा बढ्ने क्रम जारी भएपछि थप्ने तयारी गरिएको हो । मर्निङवाक, इभिनिङवाक लगायत विभिन्न बहानामा बाहिर निस्कने क्रम नरोकिएको भन्दै प्रशासनले जथाभावी बाहिर निस्किए बल प्रयोग गर्ने तयारी पनि गरेको छ ।

निषेधाज्ञा गर्ने विषयमा आज काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक बस्दै छ । बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी र उपत्यका भित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिनेछ ।

हिजो उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको थियो ।

फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ । फोरमको सिफारिस आज प्रशासनसँगको संयुक्त बैठकमा पेस गरिने फोरमले जनाएको छ ।


प्रकाशित | ९ भाद्र २०७७, मंगलवार ११:१८