स्वास्थ्य मन्त्रालयको अनुरोध – घना बस्तीमा संक्रमण बढ्दै छ, अस्पतालमा बेड अभाव हुनसक्छ, सचेत रहनुहोला

काठमाडौं – उपत्यकाका घना वस्तीमा संक्रमण बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सचेत रहन आग्रह गरेको छ । उपत्यकामा कोरोना संक्रमण दर बढेसँगै अस्पतालका बेड र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको प्रति सचेत गराउँदै मन्त्रालयले सर्वसाधारणलाई यस्तो आग्रह गरेको हो ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बेड, स्वास्थ्यकर्मी, उपकरण अभाव हुने सम्भावना रहेकोले अत्यावश्यक काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कन आग्रह गर्नुभएको हो ।

प्रवक्ता गौतमले भन्नुभएको छ, ‘काठमाडौं उपत्यका लगायत घना बस्ती भएको ठाउँमा दिनदिनै संक्रमित थपिएकोले बेड, स्वास्थ्यकर्मी, उपकरण अभाव हुने सम्भावना रहेको छ। त्यो कारणले स्वास्थ्यका मापदण्ड जस्तैः अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनुका साथै दुई मिटरको दूरी राख्ने तथा अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुन सम्भव नभए सेनिटाइजरको प्रयोग गर्न आग्रह गर्दछु ।’

साथै मन्त्रालयले अस्पतालका कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था गर्न आग्रह गरेको छ। चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अवलोकन गराउन मन्त्रालयले अपिल गरेको छ।

काठमाडौं उपत्यकामा बिहीबार ८७ जना कोरोना संक्रमति थपिए । बिहीबार काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

काठमाडौंमा कोरोना संक्रमित हुनेकोको संख्या ६७४ ललितपुरमा १२४ र भक्तपुरमा ७८ पुगेको छ। योसँगै उपत्यकाको कुल संक्रमित संख्या ७८९ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | २२ श्रावण २०७७, बिहीबार १९:२८