सुनकाे भाउ ताेलाकाे एक लाख नजिक, तोलामा २ सय बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख नजिक पुगेको छ । तोलामा २ सय रुपैया बढेर आज सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस एक हजार ९ सय ७५ डलर पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण लगानीका अरु क्षेत्र बन्द हुँदा लगानीकर्ता सुनप्रति आकर्षित भएका छन् । जसले गर्दा माग बढेर सुन महँगो हुँदै गएको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । सुनको मूल्य अत्यधिक बढेसँगै कारोबार ठप्प हुँदै गएको महासंघले जनाएको छ।


प्रकाशित | २० श्रावण २०७७, मंगलवार १३:०५