सबै सार्वजनिक गाडी सञ्चालनमा आउँन थाले

काठमाण्डौ : आजदेखि सबै सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । यातायात व्यवसायीहरुले बिहीबारदेखि सबै सार्वजनिक यातायातका साधन सञ्चालनमा ल्याएका हुन । सरकारले एक सय २० दिनपछि लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै सार्वजनीक सवारी सञ्चालनमा आउँन थालेका हुन ।

काठमाडौं उपत्यकाका सडकमा सवारी चापसमेत बढेको छ भने उपत्यकालगायत देशैभर छोटो दुरीमा सार्वजनिक सवारी सञ्चालमा आएका हुन । तर लामो दुरीका गाडीलाई भने भदौ १ गतेदेखि मात्र चल्न दिने ब्यवस्था अनुसार सञ्चालनमा आएका छैनन ।

साथै एक जिल्लाबाट अर्को जिल्लामा जान पासको व्यवस्था कायमै राखिएको छ । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरे पनि काठमाण्डौ उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सरकारले गाडी सञ्चालन गर्दा भौतिक दुरी कायम गरी यात्रु राख्नुपर्ने, ५० प्रतिशत बढी भाडा लिन मिल्ने भने पनि व्यवसायीले तोकिएको भन्दा धेरै सङ्ख्यामा यात्रु चढाएर दोब्बर भाडा लिइरहेको पाइएको छ । गुनासो बढेपछि ट्राफिक प्रहरीले गुडिरहेका बसमा अनुगमन समेत थाल्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नअपनाउनेलाई कारवाही गर्ने जनाएको छ । गाडी चलाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धित व्यवसायीले आफै व्यवस्था गर्नुपर्ने हुन्छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले गाडीमा स्यानिटाइजरको व्यवस्था व्यवसायी आफैले गर्नुपर्ने, यातायात श्रमिकका लागि आवश्यक स्वास्थ्य सामग्री, पन्जा र पीपीई सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउनुपर्ने लगायतका व्यवस्था गरिएको जानकारी दिनुभयो । हमालका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड नअपनाउने गाडीलाई कारबाही गरिनेछ ।


प्रकाशित | ८ श्रावण २०७७, बिहीबार १८:११