नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

काठमाण्डौ – गणतन्त्र सेसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल र सेसेल्सबीचको द्धिपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको छ ।

रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटमा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवादसहित सेसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताउनुभएको थियो ।

न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्ती लगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ ।

कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा। थानेश्वर भुषालले नेतृत्व गर्नुहुनेछ । अहिले १२ सय ५० भन्दा धेरै नेपाली सेसेल्समा रोजगारीको क्रममा रहेका छन् । सेसेल्स रहेका धेरै नेपाली अहिले सुरक्षागार्डका रुपमा कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही श्रमिक कार्यरत छन् ।

नेपाल र सेसेल्सबीच कुटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।


प्रकाशित | ५ चैत्र २०७८, शनिबार ११:०५