अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राम जन्मभूमिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिपति गम्भिर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिब्यक्तीप्रति गम्भिर आपत्ति जनाउँदै सरकार र सत्तारुढ नेकपाको आधिकारिक धारणा माग्नुभएको छ ।

प्रवक्त शर्माले एक विज्ञप्ती निकालेर प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको प्रष्ट पार्दै आधिकारिक धारणा माग्नुभएको हो । कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार पनि गुमाएको टिप्पणी गरेको छ ।

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने भन्दै कांग्रेसले बाढी–पहिरो र कोरोना महामारीका बेला बेला प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? भनेर प्रश्न गरेको छ ।

त्यस्तै सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि गम्भीर कुटनैतिक पहलकदमी नगरेर प्रधानमन्त्रीले नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गरेको कांग्रेसको आरोप छ ।


प्रकाशित | ३१ असार २०७७, बुधबार १७:२८