म्याग्दी पहिरो : ज्यान गुमाउनेको सङ्ख्या २८ पुग्यो, मराङमा १९ जनाको सामूहिक अन्त्येष्टि

बेनी : म्याग्दीमा ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार रघुगंगा गाउँपालिका–६, ठाडाखानी, धवलागिरी–६, मराङ र मालिका–७, विममा गएको बाढी तथा पहिरोमा परेर बेपत्तामध्ये आइतबार थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको हो ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले आइतबार मराङका खिमबहादुर जुग्जालीको शव भेटिएको जानकारी गराउनुभयो । यसअघि शनिबार २७ जनाको शव भेटिएको थियो । प्रहरी नायव उपरीक्षक कुँवरका अनुसार बाढी र पहिरोमा परेर मालिका–७, बिमकी एलिसा केसी, धवलागिरी–६, मराङ (कल्लेनीका) जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता मालिका–६, दरबाङकी गीता रोका भने अझै भेटिएका छैनन् ।

पहिरोमा परेर घाइते भएका दुईजना गर्भवतीसहित १३ जनालाई प्रभु एअर र नेपाली सेनाको एनआई सेभेन्टिन हेलिकोप्टरमार्फत उद्धार गरेर बेनी, पोखरा र काठमाण्डौमा उपचारका लागि पठाइएको छ । पहिरोमा परेर घाइते भएका ६ जना बेनी अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

पहिरोबाट मराङमा २०, विममा १० र ताकममा पाँचवटा घरमा भौतिक क्षति पुगेको भनिए पनि बाढी पहिरोबाट अधिकांश घर तथा गोठमा क्षति पुगेको जनाइएको छ । पहिरोबाट ध्वस्त भएका घरहरुको तथ्याङ्क सङ्कलनको काम सुरु भएकाले एकिन तथ्याङ्क भने अझै आइनसकेको प्रहरीले जनाएको छ ।

अहिले पहिरोबाट विस्थापित तथा अलपत्रको उद्धार गरेर सामुदायिक भवन तथा विद्यालय र आफन्तको घरमा व्यवस्थापन गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताउनुभयो । म्याग्दीमा बाढी पहिरोबाट धवलागिरीका ५ सय ९० जना, मालिकाका १ सय ९६ जना, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनासहित जिल्लाभर कुल ८ सय ९६ जनालाई सुरक्षित स्थानमा राखिएको उहाँले बताउनुभयो ।

मराङको पहिरोमा परेकामध्ये १९ जनाको शव भेटिएको छ भने २ जना अझै बेपत्ता छन् । मराङको पहिरोमा ज्यान गुमाएका १९ जनाको आइतबार अन्त्येष्टि गरिएको छ । गएको बिहीबार राति बस्ती माथिबाट खसेको पहिरोमा परेर ज्यान गुमाएका १९ जनाको मराङको विभिन्न स्थानमा दाहसंस्कार गरिएको हो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको आवश्यक कानुनी प्रक्रिया गरी आफन्त तथा परिवारलाई बुझाइएको हुँदा उनीहरुको सामूहिक एवं एकल रुपमा दाहसंस्कार भएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।


प्रकाशित | २९ असार २०७७, सोमबार १०:०६