स्मार्ट सिटीको नाममा रोक्का जग्गा तत्काल फुकुवा गर्न उपत्यका मेयर्स फोरमको माग, कडाईका साथ सरकारलाई दबाब दिने निर्णय

भक्तपुर : उपत्यका मेयर्स फोरम औपचारिक रुपमा दर्ता भएको छ । फोरम ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । मध्यपुर थिमी नगरपालिकाको जर्मन होम्समा शुक्रबार बसेको फोरमको आठौ बैठकमा अध्यक्ष चिरीबाबु महर्जनले दर्ता प्रक्रिया सम्पन्न गरि प्रमाणपत्र प्रात भएको जानकारी गराउनुभयो ।

बैठकले स्मार्ट सिटीको नाममा लामो समयदेखि जग्गा रोक्का हुँदा जनताहरु अत्यन्तै प्रताडीत बनेको भन्दै सरकारको गम्भिर ध्यानर्कषण गराएको छ । स्मार्ट सिटीको विषयमा अहिलेसम्म के-के काम भइरहेको छ भन्ने जानकारी सम्बन्धीत नगरपालिकाले समेत नपाएको भन्दै कि लागू गर्न, नभए रोक्का जग्गा फुकुवा गरेर खारेज गर्न जोडदार माग गरेको छ ।

तीन वर्षको लागि भनेर रोक्का राखिएको जग्गा सात वर्षसम्म पनि कुनै निकाश नलिकाल्दा जनताहरु अत्यन्तै मारमा परेको र पटक पटकको आग्रह वेवास्था गरिएकाले अब भने कडाईका साथ सरकारलाई दबाब दिने निर्णय फोरमले गरेको हो ।

बैठकले यसअघि अर्थमन्त्रीसँग भएको समझदारी विपरीत प्राधिकरणले विद्युत लाईन काट्न पत्राचार गरेको र केहि नगरपालिकामा भने  लाईन काटिएको भन्दै आपत्ति जनाएको छ ।

फोरमले अर्थमन्त्रीसँग यसअघिको विद्युत महसुल सरकारले ब्यवस्थापन गर्ने, त्यसपछिको संघीय सरकारले ६० र स्थानीय सरकारले ४० प्रतिशतले गर्ने गरि आगामी बजेटमा सम्बोधन गर्ने विषयमा अगाडि बढिरहँदा पनि प्राधिकरणले हचुवाको भरमा लाईन काटिएको भन्दै यो विषय नटुगिएसम्म सघर्षका कार्य जारी राख्ने र सम्बन्धीत ठाउँमा जानकारी गराउँदै नगर्नका लागि कडाई गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले स्थानीय सरकार सञ्चालन ऐनको संशोधन सम्बन्धमा यथेष्ठ गृहकार्य गरेर बुझाउने र स्थानीय तहका विभिन्न विषयमा जानकारी गराउन प्रधानमन्त्रीसँग भेटेर ध्यानर्कषण गराउने निर्णय गरेको पनि छ ।

उपत्यका मेयर्स फोरमा अध्यक्ष चिरीबाबु महर्जनको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाल नगरपालिका संघ बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्कीसहित उपत्यका मेयर्स फोरमका उपाध्यक्ष बासुदेव थापा, सचिव घनश्याम गिरी, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक प्रासद रिसाल लगायत पदाधिकार तथा सदस्यहरुको सहभागिता थियो ।

बैठकमा  मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय श्रेष्ठसहित जनप्रतिनिधिहरुले खादा, माला र भादगाउँले टोपी लगाएर स्वागत गर्नु भएको थियो ।

   


प्रकाशित | २८ बैशाख २०८१, शुक्रबार २३:०६