नेपाल भित्रिएका झण्डै ८० लाख सलह किरा निष्क्रिय, नेपाल आउने सम्भावना भने कायमै

काठमाडौं : प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले नेपाल आएको सलह किरा निष्क्रिय भएको दावी गरेको छ । केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंले गएको तीन दिनदेखि सलहको झुण्ड कतै नदेखिएको, मरेका सलह भेटिएको र निरन्तर पानी परिरहेकोले नेपाल आएका सलह अब सक्रिय हुने सम्भावना सकिएको बताउनुभयो ।

सलह किरा १६ डिग्री सेल्सियसभन्दा तलको तापक्रममा नबाँच्ने, हावाका कारण सलह लेकतर्फ लागेको, नेपाल आएका झुण्ड तितरबितर भएको र पानी पर्दा सक्रिय हुन नसक्नेजस्ता कारण नेपाल आएको सलहले धेरै क्षति गर्न नपाएको केन्द्रले जनाएको छ ।

बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको सङ्ख्यामा सलह मरेको पाइएको उहाँको भनाई छ । यस्तै कालीकोट, रुकुम, मुस्ताङलगायतका ठाउँमा झुण्ड पुगे पनि चिसो हावापानीको कारण आफै मरेका हुन सक्ने केन्द्रले जनाएको छ  ।

नेपाल भित्रिएका झण्डै ८० लाख सलह किरा स–साना झुण्डमा बाँडिएर देशका ५५ वटा जिल्लामा पुगेका थिए । सलहले दाङ, प्युठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पुर्‍याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । भारतमा रहेको अरु झुण्ड नेपाल आउने सम्भावना भने कायमै रहेको हुमागाँईले बताउनुभयो ।


प्रकाशित | २४ असार २०७७, बुधबार १९:३०