राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मको गम्भीर राजनीतिक षड्यन्त्र रचीयो : प्रधानमन्त्री

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मका गम्भीर राजनीतिक षड्यन्त्र रचिएको खुलासा गर्नुभएको छ । प्रधानमन्त्रीले राष्टियताको पक्षमा, पार्टी एकता र कम्युनिष्ट आन्दोलनको पक्षमा हुने सबै निर्णय आफूलाई स्वीकार्य हुने तर त्यसविपरीतका कुनै पनि कदममा साथ नहुने बताउनुभयो ।

राज्यमन्त्रीसहित सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले नेपालको नयाँ नक्सा प्रकरणपछि भएका विदेशी दबाब, प्रभावका कारण पार्टीमा संकट उत्पन्न भएको पुनः दोहोर्याउनुभयो । उहाँले आफूले गलत काम र प्रवृत्ति सधै अस्वीकार गर्दै आएको उल्लेख गर्दै मन्त्रीहरुबाट सहयोगको अपेक्षा पनि राख्नुभयो ।

प्रधानमन्त्रीको भनाइपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले महाअभियोगको कुरा हल्लामात्रै भएकाले त्यस्ता विषयमा सचेत हुनुपर्ने भनाइ राख्नुभएको थियो । लगत्तै जवाफ दिँदै प्रधानमन्त्रीले आफूसँग त्यसको प्रमाण रहेको पनि बताउनुभएको थियो ।

साथै प्रधानमन्त्री ओलीले राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि आफू दुवै पद त्याग्ने पक्षमा नरहेको पनि बताउनुभयो । बैठकमा महिला बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटीले पार्टी एकता जोगाउनुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।


प्रकाशित | २० असार २०७७, शनिबार २१:३१