उपत्यकामा कोरोना संक्रमण बढ्यो, मास्क प्रयोग गर्ने ७० प्रतिशत मात्रै, थप सतर्कता आवश्यक

काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण बढेसँगै उपत्यकामा महामारीको खतरा बढेर गएको भन्दै विज्ञहरुले थप सतर्कता अपनाउन आवश्यक रहेको सुझाएका छन् ।

उपत्यकामा बिहीबार मात्रै ३२ जना कोरोना सङ्क्रमित भेटिए । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ महिला र ११ पुरुषमा कोरोना सङ्क्रमण देखियो । ललितपुर र भक्तपुरका दुई÷दुई जना सङ्क्रमित फेला परे । उपत्यकामा मात्रै अहिलेसम्म कूल १५६ जनामा सङ्क्रमण भइसकेको छ । जसमा ११० जना काठमाडौँ जिल्लाका मात्रै छन् । ललितपुरका १८ र भक्तपुरमा २८ व्यक्ति छन् ।

आज मात्रै सङ्क्रमित नयाँ बानेश्वरका एक वृद्धको मृत्यु भएको छ । योसँगै मुलुकभर ३२ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उपत्यकामा देखिएका मध्ये ८० प्रतिशत बाहिरबाट आएका र २० प्रतिशत स्थानीय तथा कोठा भाडा बसेकाहरु छन् ।

विगतमा काठमाडौँमा देखिएका सङ्क्रमित सबै विदेशबाट आएका नेपाली मात्रै थिए । तर अहिले काठमाडौँकै रैथाने र कोठा भाडामा लिएर बसेकामा पनि देखिन थालेकाले थप सतर्कता आवश्यक देखिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा नसोचेको व्यक्तिमा सङ्क्रमण देखिएकाले कन्ट्रयाक ट्रेसिङको काम थालिएको बताउनुभयो । “हरेक मान्छे पोजेटिभ छ भनेर हामीले सोच्नुपर्छ, तब नियन्त्रण गर्न सकिन्छ, उहाँले सतर्कता अपनाउन आग्रह गर्दै भन्नुभयो, “हामी होसियार भएनौँ भने उपत्यका जोखिममा छ ।”

त्यस्तै, एक अध्ययन प्रतिवेदन अनुसार उपत्यकामा अहिले ७० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेका छन् । तीस प्रतिशतले अझै लापरवाही गरिरहेका छन् । पहिलो त अनिवार्य मास्क लगाउने, त्यसपछि राम्ररी हात धुने, सेनिटाइजर प्रयोग गर्ने, जोरजुलुस नगर्ने र गरेका ठाउँमा नजाने, दुई मिटरको भौतिक दूरी कायम गर्ने, भीडभाडमा नजाने गर्दा सङ्क्रमण हुनबाट बच्न सकिने विज्ञहरुले सुझाएका हुन ।


प्रकाशित | १९ असार २०७७, शुक्रबार १९:५१