उत्कर्षमा नेकपाको विवाद : ४४ सदस्यीय स्थायी कमिटीमा ३१ सदस्य अध्यक्ष ओलीको विपक्षमा उभिए

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउन लागिपरेको भन्दै सार्वजनीक अभिब्यक्ती दिएपछि शूरु भएको विवाद अहिले उत्कर्षमा पुगेको हो । प्रधानमन्त्रीको ओलीको सो अभिब्यक्तीप्रति पार्टीका शीर्ष नेताहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टीभित्र पक्ष विपक्षमा सार्वजनीक रुपमै विवाद शूरु भएको हो ।

त्यस्तै ३१ जना स्थायी कमिटी सदस्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिएका छन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गर्दै वरिष्ठ नेताहरुको एक भेलाले प्रधानमन्त्रीको विपक्षमा उभिएका हुन ।

झम्सिखेलको एक होटलमा भएको भेलामा सहभागी स्थायी कमिटीका सदस्य ओलीको नेतृत्वमा पार्टी र सरकार दुबै चल्न नसक्ने सामूहिक निश्कर्षमा पुगेका हुन् । जे निर्णय भएपनि सकेसम्म सहमतिकै आधारमा गर्नु पर्ने पनि उनीहरुको जोड छ ।

सर्वसम्मत निर्णय हुन नसके बहुमतको निर्णय ओलीले मान्नुपर्ने भेलाको निश्कर्ष छ । अध्यक्ष प्रचण्डले स्थायी कमिटीका अरु नेताहरुसँग पनि छलफल गर्दैहुनुहुन्छ ।

प्रचण्डले हालसम्म ओली पक्षमा रहेका सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरुसँग पनि छलफल गर्ने निधो भएको छ । नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमहरुबारे पनि झम्सिखेल बैठकमा छलफल भएको छ ।

संकटकाल लगाउने, संसद विघटन गर्ने वा संसदीय दलमा बहुमत जुटाउने तीनवटा विकल्पमा प्रधानमनत्री ओलीले प्रयास गरेको नेताहरुको दाबी छ । पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग बाक्लिएको भेटघाटका कारण पनि संकटकाल लगाउन खोजिएको त होइन भन्ने नेताहरुको आशंका छ ।

संसद विघटन गर्ने विकल्प असंवैधानिक भएको र यसलाई अदालतले सहजै उल्टाउने प्रचण्ड नेपाल समूहका नेताहरुको विश्लेषण छ । नेकपा संसदीय दलमा पनि प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने नेताहरुको दाबी छ ।

नेकपाका १७४ सांसद छन् । उनीहरुमध्ये बहुमत प्रचण्ड र माधवकुमार नेपाल समूहसँगै भएको नेताहरुले दाबी गरेका छन् । ४४ सदस्यीय स्थायी कमिटीका बहुमत नेताहरुको यो निश्कर्षले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पद जोगाउन हम्मे पर्ने देखिएको छ ।


प्रकाशित | १८ असार २०७७, बिहीबार ०९:४६