असार १५ अगावै २० प्रतिशत रोपाइँ सकियो

काठमाडौँ : ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी भइरहेको अवस्थामा असार पन्ध्र अगाडि नै गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ ।

असार १० गतेसम्म २०.०५ प्रतिशत धान रोपाइँ भइसकेको छ जब कि गत वर्ष असार १५ अघि ११.६४ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी २६.०७ प्रतिशत धान रोपाइँ उच्च पहाडी क्षेत्रमा भएको छ भने मध्य पहाडी क्षेत्रमा २०.०७ र तराई क्षेत्रमा १९.७५ प्रतिशत मात्र रोपाइँ भएको छ ।

प्रदेश १ मा १०.४१, प्रदेश २ मा १५.५३, बाग्मती प्रदेशमा १८.६८, गण्डकी प्रदेशमा १३.७२, प्रदेश ५ मा ३६.२६, कर्णाली प्रदेश २०.११ र सुदूरपश्चिममा २१.४६ प्रतिशत धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतका विभिन्न निकायले असार १५ गते सो महोत्सव मनाउने भएको छ । कृषि विभागले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी धान उत्पादनमा वृद्धि गरी यस बालीलाई राष्ट्रिय समृद्धि हासिलका लागि सहयोगी क्षेत्रका रूपमा स्थापित गर्न ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ धान दिवस मनाउन लागेको जानकारी गराएको छ ।

कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले विगतको तुलनामा यसपटक धान उत्पादनमा वृद्धि हुने दाबी गर्नुभयो । समयमा मनसुन सुरु भई धान रोपाइँले गति लिएको तथा रासायनिक मल तथा बीउको उपलब्धतालाई सहज बनाउँदै लगेका कारण यसपटक धान उत्पादनमा वृद्धि हुने देखिएको उहाँले बताउनुभयो । आ.व. २०७६÷०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः २.२० प्रतिशत र १.०५ प्रतिशत कमी भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादकत्व १.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुने गरेको जानकारी गराउँदै त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी रहेको जानकारी दिनुभयो । अन्न बाली उत्पादनको कुल क्षेत्रफलको करिब ४३ प्रतिशतमा धान खेती हुने गरेको र कुल अन्न बाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा वार्षिक करिब १.५ खर्ब रुपियाँ बराबरको धान तथा यसका उप–उत्पादनबाट प्राप्त हुने गर्दछ ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानबाट कृषि क्षेत्रको गार्हस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको उहाँले जानकारी दिनुभयो । धानमा आत्मनिर्भर हुनका लागि नौदेखि १० लाख मेट्रिक टन धानको आवश्यकता छ, त्यो पूर्ति गर्नका लागि कृषि मन्त्रालयले प्रयास जारी राखेको बत(ाउँदै उहाँले त्यसका लागि यान्त्रिकीकरण र उन्नत जातको बीउ उत्पादनमा जोड दिएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनीकमा छ ।


प्रकाशित | १३ असार २०७७, शनिबार ०८:०४