भरतपुर महानगरमा चार अर्ब १५ करोड ६४ लाख ८९ हजारको बजेट विनीयोजन

चितवन : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपियाँ विनियोजन गरेको छ । महानगरले छैटौँ नगरसभामा सो बजेट प्रस्तुत गरेको हो ।

प्रस्तुत बजेटमध्ये ४८ करोड रुपियाँ चालु खर्च रहेको छ । बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट रु ६० करोड, आन्तरिक आय रु ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु ४६ करोड १२ लाख ५१ हजार रहेको विवरण प्रस्तुत गर्नुभयो ।

यस्तै, आम्दानीतर्फ जनसहभागिताबाट रु २५ करोड, बैङ्क मौज्दात रु ८२ करोड, मर्मत सम्भार कोषबाट रु। दुइ करोड र सडक बोड नेपालबाट रु एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ ।

महानगरपालिकाको बुधबार सुरु गरेको छैटौँ नगरसभामा महानगर प्रमुख रेणु दाहालले आर्थिक वर्ष ०७७ /०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रम कोभिड– १९ को प्रभावलाई न्यूनीकरण गर्न केन्द्रित भएको छ ।

नीति तथा कार्यक्रम सँगसँगै आउँदो वर्षका लागि विनियोजित बजेट कोभिड– १९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिहरूलाई रोजगार सिर्जना गर्न केन्द्रित छ ।


प्रकाशित | १० असार २०७७, बुधबार १७:३५