१४ दिनसम्ममा कोरोना भाइरस निस्कृय हुन्छ : डब्लूएचओ नेपाल प्रमुख [अन्तर्वार्ता]

नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड-१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । सीमित श्रोत साधनबीच संक्रमणलाई समुदाय स्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको पनि उनकाे भनाइ छ । अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम बढेको डब्लूएचओले बताउँदै आएको छ । यस्तै, प्रसंग र सन्दर्भमा डब्लूएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरसँग न्युज एजेन्सी नेपालका लागि सबिन धमलाले गरेकाे कुराकानीकाे सम्पादित अंश:

अहिले कोरोनाको कहरमा छौँ, हामी । विश्वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ ? कस्तो छ नेपालको अवस्था ?

अहिले विश्वव्यापी दृटिकोणबाट हेर्दाखेरि युरोपमा कोरोनाको संक्रमण घटिराखेको छ भने संयुक्तराज्य अमेरिकामा अझै बढिराखेको देखिएको छ । त्यसैगरी अहिले अफ्रिकामा पनि संक्रमण विस्तारै बढ्दै गएको देखिराखेको छ । नेपालमा पनि बढ्दै गएको देखिएको छ । अहिले बढ्नुको कारण धेरै केसको पहिलाभन्दा रिपोर्टिङ भइराखेको छ ।

नेपालको केसमा एउटा विशेष कुरा के छ भने नेपालमा समुदायस्तरको संक्रमणभन्दा पनि विदेशबाट फर्कने व्यक्तिहरूमा बढी संक्रमण देखिएको छ । त्यसैले अहिले हामीले देखिएका केसहरू क्वारेन्टाइनको स्थलहरुबाट बढी आएका छन् । विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरूमा र अन्य देशहरूबाट फर्केका व्यक्तिहरूमा देखिएको छ ।

यसलाई फेरि मैले उल्टो बनाए जस्तो अब नेपालले विश्वलाई कसरी हेर्नुपर्छ अर्थात् नेपालले विश्वलाई यहि प्याण्डामिकको बारेमा कोरोनाको बारेमा कसरी हेरिरहेको छ ? कस्तो अनुभव छ, तपाईंको ?

तपाईंले भनेजस्तै महामारीले कुनै पनि सीमा भन्दैन । यो विश्वव्यापी कुरा हो । यसले गर्दा कुनै पनि सीमाले यसलाई रोक्नेकुरा हुँदैन र नेपालले हेर्दाखेरि पनि के हुनपर्‍यो भने नेपाल पनि यो विश्वको परिवेसको एउटा हिस्सा हो भनेर त्यसरी हेर्न जरुरी छ । किनभने हामीले देखिराखेका छौँ संक्रमण बाहिर देशबाट फर्किएको व्यक्तिहरूमा देखिएको छ । फेरि भारतबाट फर्केका व्यक्तिमा मात्र नभएर अन्य देशबाट पनि फर्किराखेका नेपालीमा पनि देखिराखेको छ ।

यसबाट हामीले के बुझ्नु पर्छ भने कुनैनकुनै बखतमा यो रोग नेपाल आउने वाला थियो र आउने नै वाला छ भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ । हामी यो विश्वपरिवेसको एउटा हिस्सा हौँ भनेर सोच्न जरुरी छ ।

नेपालको बाँकी विश्वभन्दा अलिकति फरक जस्तो देख्यौँ जुनबेला हामीकोमा थोरै संक्रमण देखिएको थियो त्यो बेला हामीले लकडाउन गर्‍यौँ र हामीले झण्डै-झण्डै ८० दिनपछि लकडाउन खोल्यौँ तर अहिले संक्रमितको संख्या बढिरहेको छ । यसलाई प्राविधिक रूपमा कसरी हेर्न सकिन्छ ?

नेपालमा गरिएको जस्तो लकडाउनको उद्देश्य भनेको भाइरसलाई कम गर्ने भन्ने हो । किनभने लकडाउन गरेपछि मानिस घरमै बस्छन, ट्राफिक पनि हुँदैन र आवतजावत कम हुन्छ । त्यसले गर्दा भाइरसको संक्रमणको संख्या घट्छ भन्ने हो । नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्‍यो ।

मार्च महिनामा दोस्रो केस देखिना साथ नै लकडाउन गर्‍यो र त्यसले गर्दाखेरी नै नेपालमा अहिले समुदायस्तरको संक्रमण नदेखिएको हो जस्तो लाग्छ । यसको एउटा आंशिक कारण पूर्णरूपमा नभए पनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ र त्यो अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ ।

तर, लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्योबाहेक अन्य पक्ष पनि हुन्छन । जस्तै, सामाजिक पक्ष, आर्थिक पक्ष किन भने लकडाउन लगाएपछि मानिस आफ्नो काममा जान पाउँदैनन र कमाइमा असर गर्छ ।

लकडाउन लगाएको केही समयपछि कुनै पनि सरकारलाई एउटा दुविधा उनीहरूको सामु देखा पर्छ । त्यो भाइरसलाई नियन्त्रण गर्नलाई बढी जोड दिने कि अब अर्थतन्त्रलाई पनि सन्तुलन गर्ने भनेर । त्यसले गर्दा नेपालमा अहिले लकडाउन केही हदसम्म खुकुलो बनाइएको छ ।

यो हामीले अरू देशमा पनि देखिराखेका छौँ लकडाउन खुकुलो बनाउँदा एकैचोटि नगरेर स्टेप बाइ स्टेप चरणवद्ध रूपमा गरेको देखिएको छ र नेपालले पनि त्यसै गरिराखेको छ । अहिले सरकारको लागि प्रमुख मुद्दा भनेको त्यसलाई कसरी सन्तुलनमा ल्याउने भाइरसको नियन्त्रणको कुरा र अर्थतन्त्रमा मानिसहरुलाई अव काममा जानुपर्ने छ, आफ्नो कमाई गर्नुपर्ने छ ती कुराहरूलाई कसरी सन्तुलन गर्ने भन्ने हो ।

नेपालमा यो अब कसरी जान्छ भन्ने कुरा देख्न बाँकी छ । तर, हामीले के कुरा पनि मनन गर्नुपर्छ भने यदि केसहरू फेरि बढ्दै गयो भने लकडाउन फेरि लाग्न पनि सक्छ । यो खुला नै गरिन्छ भन्ने चाहिँ छैन् । यो कुरा मनन गर्नुपर्छ ।

अलिकति प्राविधिक कुरा गरौँ । जस्तो हामीकहाँ देखिएको कोरोनाको संक्रमणमा लक्षण देखिएनन् । कुनै संकेत देखिएन । व्यक्ति स्वस्थ रहँदारहँदै पनि संक्रमित भएको हामीले पायौँ । यसमा के छ डब्लूएचओको अध्ययन ? नेपालमा आएको भाइरसले अणुवांशिक परिवर्तन गरिसकेको हो अथवा यहीको स्थानीय भाइरस बनिसकेको हो ? यसबारे डब्लूएचओले कुनै अनुसन्धान गरेको छ ?

तपाईंले भने जस्तै हो । नेपालमा अहिले लक्षणरहीत केस एकदम धेरै देखिएको छ । मान्छेलाई स्वास्थ्य नै छु जस्तो भइराखेको छ । उनीहरूलाई खोकी पनि लागेको छैन केही पनि भएको छैन तर कोरोनाको संक्रमण चाहीँ भइराखेको भनिएको छ ।

यो हुनुको कारण एउटा के हो भने नेपालमा धेरैजसो केसहरू देखिएका छन्, ती सबै युवामा देखिएको छ । कम उमेरका मानिसमा देखिरहेको छ । ती मानिस कस्ता मानिस भन्दाखेरी प्रायःजसो भारतमा काम गरिराखेका र भारतबाट फर्किएका व्यक्तिहरू हुन् ।

अहिले परीक्षण भइरहेको पनि उनीहरूमा बढी हो । यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन् । किनभने कोरोनाको संक्रमण विशेष गरी युवामा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ । नेपालको हकमा हामीले अलि वृद्धवृद्धामा धेरै केस देखिसकेका छैनौँ र भोलि त्यो केस धेरै देखियो भने फरक कुरा हुन्छ । नत्रभने अहिले यसको लागि अचम्म मान्नुपर्ने कुरा छैन् ।

नेपालमा नयाँ खाले भाइरसभन्दा पनि भाइरस उस्तै हो यो हामीले देखेका संक्रमणका केसहरू फरक हुन् । विशेषगरी नेपालमा युवामा देखिएको छ । त्यसैकारण हामीलाई यो भाइरस अनौठो हो कि जस्तो लाग्न सक्छ, नयाँ हो कि जस्तो लाग्न सक्छ । तर, यो भाइरस नयाँभन्दा पनि हामीले जुन केस देखिराखेका छौँ त्यो चाहीँ नयाँ हो ।

विश्वव्यापीरूपमा पनि अहिले यो भाइरसको मूलभूतरूपमा परिवर्तन देखिएको छैन । त्यसैले यो त्यही नै भाइरस हो फरक भाइरस हो भनेर मान्नुपर्ने अहिलेसम्म कुनै प्रमाण देखिएको छैन । केवल फरक के हो भने हामीले जुन केस देखिराखेका छौँ त्यो विरामीको प्रोफाइल र विवरण फरक देखिएको हो ।

अर्को पनि प्राविधिक प्रश्न छ । नेपालमा एकदमै बहसको विषय पनि बनेको छ । हामीले आरडीटी परीक्षण र पीसीआर परीक्षणबारे नै बुझ्न सकेनौँ । यहाँ जनमानसमा एउटा विवाद पनि छ । कतिपय अवस्थामा सरकारको पनि दोष देखिन्छ । डब्लूएचओले के भन्छ आरडीटी कस्तो अवस्थामा गर्ने हो, पीसीआर कस्तो अवस्थामा गर्ने हो यसको प्राविधिक विशेषता के के हुन ?

आरडीटी र पीसीआर २ वटा प्रयोगशालामा गरिने परीक्षणहरू हुन्, तर यिनीहरू फरक हुन्छन् । पीसीआरले तपाईको शरीरमा यो भाइरस छ कि छैन ? तपाईं अहिले संक्रमित हुनुहुन्छ कि हुनुहुँदैन भनेर हेर्छ ।

यसको लागि तपाईंको नाकबाट स्वाबको नमुना लिएर परीक्षण गरिन्छ । आरडीटीले शरीरमा एन्टीबडी छ कि छैन भनेर हेरिन्छ । एन्टीबडी भनेको त्यस्तो कुरा हो जुन शरीर आफैँले निर्माण गर्ने कुरा हो र एन्टीबडी शरीरले कुनै भाइरससँग प्रतिरक्षा गर्नको लागि भाइरसँग जुध्नको लागि उत्पादन गर्ने एउटा चिज हो ।

एन्टीबडी पत्ता लाग्न सक्ने जतिको संख्यामा उत्पादन हुनको लागि १० देखि १४ दिनसम्म लाग्न सक्छ । त्यसले गर्दाखेरि आरडीटीले के कुरा हामीलाई थाहा दिन्छ भने उक्त व्यक्ति विगतमा कुनै समयमा त्यो भाइरसको संक्रमणमा आएको थियो अथवा कुनै बेला संक्रमित भएको थियो कि भन्ने कुरा जानकारी दिन्छ । यसरी हेर्दा यी २ वटा फरक छन् । एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन ।

पीसीआर हामीले प्रयोग गर्ने भनेको कुनै पनि व्यक्ति संक्रमित छ कि छैन र उसले अरूलाई संक्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्नको लागि परीक्षण गर्छौं । आरडीटी चाहिँ विशेष गरी कुनै पनि समुदाय अथवा कुनै पनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको संक्रमण आएको थियो भन्ने कुरा जान्नको लागि गर्छौं ।

तसर्थ फेरि दोहोर्‍याउँदा पीसीआर कुनै पनि व्यक्तिमा अहिले संक्रमण छ कि छैन र त्यो व्यक्तिले संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ भने आरडीटीले कुनै व्यक्ति अथवा कुनै समुदाय विगतमा कुनै विन्दुमा त्यो भाइरसको संक्रमित थियो अथवा त्यो भाइरसको संक्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ । त्यसैले आरडीटीले शरीरले प्रतिरक्षाको रूपमा निकाल्ने एन्टीबडी छ कि छैन भन्ने कुरा जाँच गर्ने हो ।

अब अलिकति सामाजिक कुरा गर्छु । हाम्रो क्वारेन्टाइनको अवस्था राम्रो छैन हामीले धेरै पीसीआर टेस्ट पनि गर्न सक्दनौँ । हाम्रो क्षमता अर्थात आर्थिक कुरा पनि आउँछ । यस्तो कतिपय अवस्थामा क्वारेन्टाइनमा राखेका व्यक्तिलाई परीक्षण नगरिकन हामीले पठाउनुपर्ने हुनसक्छ । यसबारे विश्वव्यापी रूपमा डब्लूएचओको कुनै गाइडलाइन छ ? यस्तो अवस्था आउँदाखेरी के गर्ने भन्ने बारेमा अर्थात आरडीटी वा पीसीआर कुनै पनि जाँच नगरीकन व्यक्तिहरूलाई क्वारेन्टाइनबाट घरमा अथवा समुदायमा पठाउन सक्ने अवस्था आउन सक्छ ? के यो ठीक हुन्छ ?

हामीले क्वारेन्टाइन गर्ने भनेको यस कारणले गर्ने हो कि मानिसलाई कम्तिमा १४ दिनको लागि छुट्टै राख्छौँ । ताकि त्यो व्यक्तिमा यदि भाइरस भएकै भए पनि १४ दिनसम्ममा भाइरस मरिसक्छ त्यसले उक्त व्यक्तिले अरू कसैलाई त्यो संक्रमण सार्न सक्दैन । व्यक्ति पनि निको भइसकेको हुन्छ ।

तसर्थ हामीले यदि लामो समयसम्म कुनै पनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समुदायमा अथवा घरमा पठाउँदाखेरि पनि भाइरस संक्रमण हुने सम्भावना रहँदैन । किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ । तसर्थ हामीले यदि क्वारेन्टाइन राम्रोसँग गर्न सक्यौँ भने टेस्ट नगर्दा पनि फरक पर्दैन ।

तर, क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग २ वटा उपायहरू छन् । एउटा सबै मान्छेलाई एकठाउँमा लिएर आउने सम्भावित व्यक्तिलाई र उनीहरूलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने । अर्को उपाय भनेको घरमै पनि कुनै पनि व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ ।

तर, घरमा राख्दा खेरिको एउटा जोखिम चाहिँ के हुन्छ भने यदि उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ । तसर्थ परिवारका अन्य सदस्यभन्दा दूरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै शौचालय प्रयोग गर्नेलगायतका सुविधा हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ ।

त्यसैगरी, क्वारेन्टाइनमा संक्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिलाई हामीले अन्य व्यक्तिबाट छुट्टै राख्ने हो । तर, क्वारेन्टाइनमै भएका पनि यदि कोही व्यक्तिमा संक्रमण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा लगेर छुट्टै राख्नुपर्छ एकान्तबासमा लगेर राख्नुपर्छ ।

त्यसले हामीले क्वारेन्टाइन प्रयाप्त समयसम्म कायम राख्न सक्यौँ भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौँ त्यसलाई रोकथाम गर्न सक्छौँ । तर, यहाँ मुख्य प्रश्न भनेको हामीले क्वारेन्टाइन राम्रोसँग गर्न सक्छौँ कि सक्दैनौँ भन्ने हो ।

जस्तै सामाजिक दूरी कायम गर्ने हामी यहाँ अहिले यसरी कायम गरेको जस्तै त्यसैगरी हात सफा गर्ने, खोक्दा र हाच्छ्यु गर्दा आफ्नो कुहिनोलो छोप्ने जस्ता कुराहरु हामीले गर्न सक्छौँ यी कामहरू कायम राख्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा हो । तसर्थ यदि हामीले उपयुक्त तरिकाले क्वारेन्टाइन गर्न सक्यौँ भने परीक्षण नगर्दा पनि हुन्छ ।

अर्को मेरो प्रश्न डब्लूएचओको बारेमा छ । कोरोनाको कहर पछाडि नियमित रूपमा डब्लूएचओले विश्वभरी सूचना आदानप्रदान गर्छ सूचना दिन्छ सचेत पनि गराउँछ र गाइडलाइन पनि वितरण गरिरहेको हुन्छ । कतिपय अवस्थामा डब्लूएचओले दिने गाइडलाइन छिट्टै वा ढिलो गरीपनि परिवर्तन भएइरहेका हुन्छन् । समय समयमा परिवर्तन भइरहेका हुन्छन् । यसको अर्थ कुनै पनि देशले अघिल्लो गाइडलाइनलाई मानेर रणनीति तयार गरिसक्दा अथवा त्यसलाई कार्यान्वयनमा ल्याउँदा नल्याउँदा अर्को गाइडलाइन आइसकेको हुन्छ । किन यसरी परिवर्तन भइरहेको हुन्छ । यसमा हामीले पनि महसुस गरेका छौँ यसको कुनै कारण छ ?

तपाईंले एकदम सही अवलोकन गर्नुभयो । विश्व स्वास्थ्य संगठन डब्लूएचओले प्राविधिक सहायता दिन्छ तर उसले दिने प्राविधिक सहायता र जारी गर्ने मार्ग निर्देशनहरू ती सबै कुनै न कुनै प्रमाणमा आधारित हुन्छन विज्ञानमा आधारित हुन्छन् । यसले गर्दाखेरी अर्को कुरा के भयो भने हामीले कोभिड-१९ भन्ने यो एकदम नयाँ रोग हो ।

यसको बारेमा ५ महिना अगाडिसम्म हामीलाई केही थाहा थिएन । यो ५ महिनामा यति धेरै अध्ययन भइराखेका छन कि प्रत्येक दिन नयाँ कुराहरु पत्ता लागिराखेको छ । धेरै वैज्ञानिकले पनि यो भाइरसको बारेमा अध्ययन गरिराखेका छन् । विश्व स्वास्थ्य संगठनले ति सबै कुराको ट्रयाक गरिराखेको छ । वैज्ञानिकले के नयाँ कुरा पत्ता लगाए भन्ने कुरा हेरिराखेको छ । हामीले देख्न सक्छौँ बेला बेलामा त्यो नयाँ कुरा पत्ता लाग्छ र विज्ञान आफै परिवर्तन भइराखेको देखिएको हुन्छ ।

पहिलोचोटि भनेको कुरा अर्को चोटिको अध्ययनले त्यसलाई गलत ठहर्‍याएर अर्को नयाँ कुरा देखिराखेको हुन्छ । अरू सामान्य अवस्थामा पनि यो कुरा भइरहेको हुन्थ्यो तर हामीले याद गरिराखेका हुन्थेनौँ मानिसले याद गरेका हुँदैन थिए । तर, यो कोभिड-१९को कुरामा के भयो भने एकैचोटि धेरै कुरा भइराखेको छ ।

धेरै व्यक्तिले यसमा रूचि देखाइराखेका छन र धेरै अध्ययन भइराखेका छन र त्यसमा छिटो-छिटो नयाँ कुरा पत्ता लागिराखेको हुनाले हामीलाई यस्तो लागेको हो । विश्व स्वास्थ्य संगठन के चाहन्छ भने उसले जारी गर्ने मार्ग निर्देशिका उसले दिने निर्देशन सकेसम्म हालसालैको सबैभन्दा नयाँ वैज्ञानिक आधार के छ त्यसको आधारमा हो ।

सबैभन्दा नयाँ अध्ययनले पत्ता लगाएको निष्कर्ष के छ त्यसको आधारमा होस भन्ने चाहन्छ । म बुझ्छु यो कुरा अलिकति अलमल्याउने खाले हुनसक्छ तर हामीले जारी गर्ने कुरा हामीले दिने निर्देशन सकेसम्म सबैभन्दा सत्यको नजिक हुन जरुरी छ त्यसैले यस्तो भएको हो ।

नेपालले अहिलेसम्म आउँदाखेरी तपाईं यहिं बसेर पनि हेरिरहनु भएको छ । नजिकबाट काम पनि गरिरहनु भएको छ नेपाल सरकारसँग । हाम्रा सबल पक्षहरू राम्रा पक्षहरू के पाउनुभयो ? यो विषयमा अलिकति सुधार्न पाए अझ राम्रो हुने थियो भन्ने तपाईलाई लागेको त्यस्तो केही छ ?

मैले नेपालमा काम गरेको पाँच वर्ष भयो त्यसैले गर्दाखेरी मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा केही हदसम्म जानकारी हासिल गरेको छु । मैले भन्नुपर्दाखेरी सरकारले जुन लकडाउन कार्यान्वयन गर्न लकडाउन लागु गर्न एकदमै छिटो गर्‍यो आंशिक रूपमा त्यो एउटा कारण हो जसले गर्दा अहिले सामुदायिकस्तरमा संक्रमण कम देखिएको छ ।

सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो । त्यसले गर्दाखेरी अहिले समुदाय स्तरमै त्यति धेरै संक्रमण फैलिराखेको छैन र अहिले परीक्षणको संख्या पनि प्रत्येक दिन बढिराखेको छ । अर्को कुरा भनेको सरकारले यो लकडाउनको समय अवधिलाई चाहिं आफुलाई अझ राम्रोसँग तयार गर्नको लागि प्रयोग गरेको छ ।

धेरै काम भएको छ विशेष गरी हामीलाई चाहिने सामग्री खरिद गर्नमा ल्याउनमा व्यक्तिगत सुरक्षा सामग्री ल्याउने कुरामा कोभिड-१९को लागि भनेर हस्पिटल तोक्ने कुरामा त्यसैगरी कर्मचारीलाई तालिम दिने कुरामा त्यसैगरी विभिन्न मार्ग निर्देशिका जारी गर्ने कुरामा चाहिं सरकारले राम्रो काम गरेको छ । यस अर्थमा भन्दाखेरी लकडाउनको समयलाई सरकारले राम्रोसँग सदुपयोग गरेको छ । नेपाल एउटा निम्न आय भएको देश हो त्यसले गर्दाखेरी हामीले त्यहि परिपेक्षमा हेर्नुपर्ने हुन्छ ।

हाम्रो सामान्य अवस्था मै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सिमितताहरु हुन्छन किनभने कतिपय अवस्थामा सामग्री हुँदैनन कतिपय अवस्थामा मानव जनशक्ति हुँदैनन् । यसले गर्दाखेरी हामीले निम्न आय भएको नेपाल जस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाज्न नमिल्ने हुन्छ ।

त्यसैगरी अब आउने दिनमा केस एकदमै धेरै नै बढ्ने वाला छ । त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु । विशेषगरी परीक्षणको संख्या बढाउनको लागि आगामी महिनामा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ ।


प्रकाशित | ९ असार २०७७, मंगलवार १५:५९