पहिरो खसेपछि तातोपानी नाका हिडेका १४ कन्टेनर बाटोमै अलपत्र

मेलम्ची : तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु पहिरोले बाटो अवरुद्ध हुँदा अलपत्र परेका छन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै अलपत्र परेका हुन् ।

इलाका प्रहरी कार्यालय कोदारीका अनुसार तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । तर बाटो खुलाउने प्रयास भने भइरहेको छ ।

भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताउनुभयो । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गते देखि पुन सञ्चालनमा आएको थियो ।

तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरु आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरु पनि बाटोमै अलपत्र छन् ।


प्रकाशित | ९ असार २०७७, मंगलवार ०८:१८