नेपालमा कोरोना महामारी कायमै रहेको भन्दै डब्लूएचओले गर्यो आवश्यक सर्तकता अपनाउन अपिल

काठमाडौं : विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड -१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो बनाए पनि कोभिड -१९ को महामारी टरिनसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गर्नुभएको हो ।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उहाँले त्यस क्रममा सबैले आ आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताउनुभयो ।

संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ-आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मानिसहरूको भीडभाडमा नजाने, जानै परे दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभयो ।

‘लकडाउन हामी सबैका लागि गाहो कुरा थियो । घर मै बस्नु पर्‍यो । साथीभाइलाई भेट्न पाइएन । काममा जान पाइएन । अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ’, उहाँले भन्नुभयो, ‘काममा जान पाएका छौँ । नातेदार परिवारहरूलाई भट्न जान पाइरहेका छौँ । तर, हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गइसकेको छैन ।’

उहाँले महामारी टरिनसकेकाले होसियारी अपनाउन जरुरी रहेकोतर्फ जोड दिनुभयो । उहाँले कोरोना भाइरस संक्रमणबाट जोगिन आफैँले पनि कदम चाल्नु पर्ने बताउनुभयो । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको नियमहरू पालना गर्नु रहेको बताउनुभयो ।

‘महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौँ तसर्थ हामी अलि होसियार हुन जरुरी छ । हामीले आफैले केही कदमहरू चाल्नु जरुरी छ । ताकी यो संक्रमणलाई नियन्त्रण गर्न सकियोस् । हामीले चाल्न सक्ने कदमहरु भनेको एक अर्कासंग भौतिक दुरी कायम गर्ने, मास्क लगाउने । कपडा कै भए पनि हुन्छ । विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउने । त्यसैगरी साबुन पानीले बारम्बार हात धुने किनभने संक्रमित व्यक्तिलाई तपाईंले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईंको हातले मुखलाई, नाकलाई छुदाँ त्यहाँबाट भाइरस तपाईको शरिरमा प्रवेश गर्छ।’

उहाँले भन्नुभयो, ‘त्यसैगरी खोक्दा मुख छोप्ने । साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने । यी कुराहरू तपाईहरूले गर्नुभयो भने भाइरस थप फैलिन पाउँदैन र भाइरस मर्छ । भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरू पलना गर्नु नै हो । ‘


प्रकाशित | ८ असार २०७७, सोमबार १५:५३