आज योग दिवस : कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य आवश्यक-प्रधानमन्त्री

काठमाडौं : आज अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ । हरेक वर्ष जुन २१ मा योग दिवस मनाउने गरिन्छ । ‘घरमा योग, परिवारको साथ योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाईंदैछ ।

संयुक्त राष्ट्र सङ्घले सन् २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालेको हो । कोरोना महामारीपछि योग, आहार तथा मनोबलको महत्व अझ बढेको छ । तनाव व्यवस्थापनमा पनि योग महत्वपूर्ण छ ।

त्यस्तै, सोही दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले योग र सन्तुलित खानपानमा ध्यान दिन सकेमा निरोगी नेपालको उद्देश्य पूरा हुने बताउनुभयो ।

उहाँले योग साधना हाम्रो प्राचीन सभ्यताको मौलिक उपज भएको चर्चा गर्नुहुँदै मानसिक अन्तरयात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै बढेको बताउनुभयो । तनाव, द्वेष, इष्र्या र निन्दाका दुष्प्रभावलाई त्याग्दै समाजलाई स्वस्थ, खुसी र सकारात्मक मनोचेतनातिर लैजान योगलाई मानव जीवनको अङ्ग बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न सबैलाई आग्रह गर्नुभएको छ ।


प्रकाशित | ७ असार २०७७, आईतवार ०८:०७