गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : उपकरण र प्राविधिक जनशक्ति नआउँदा निर्माण कार्य धकेलिँदै

भैरहवा : चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार धावनमार्गको लाइट फिक्स्चर र ब्यागेज ह्यान्डलिङ सिस्टमको कन्भेएर बेल्ट मुख्य रूपमा आउन बाँकी उपकरण हुन् । आउन बाँकी उपकरण चीनबाट अझै ढुवानी हुन नसकेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

“अहिले चीनमा उपकरण प्याकिङ गर्ने र बैङ्किङ कागजात मिलाउने प्रयास भइरहेको छ, त्यो सकिएपछि उपकरण नेपाल आइपुग्न सडक मार्ग हुँदै कम्तीमा एकदेखि डेढ महिना लाग्छ । ’’ अरू उपकरण ९५ प्रतिशत आइसकेका छन् । लाइट फिक्स्चरजस्ता उपकरण नेपाली प्राविधिकले जडान गर्न सके पनि कन्भेयर बेल्ट जडान गर्न विदेशबाटै प्राविधिक आउनु पर्छ । “अबको समस्या भनेको विदेशमा रोकिएका कामदार, उपकरण जडान गर्ने प्राविधिक र बाँकी उपकरण ल्याउनु हो । त्यसका लागि अन्तर्राष्ट्रिय उडान र स्थलमार्ग वा सामुद्रिक मार्ग खुल्ला हुनु जरुरी छ,”आयोजना प्रमुख अधिकारीले भन्नुभयो ।

आउन बाँकी उपकरण आएपछि जडानको कामका लागि कम्तीमा पनि साढे दुईदेखि तीन महिना लाग्ने आयोजना प्रमुख अधिकारीको भनाइ छ । उपकरणसँगै ३० देखि ४५ जनासम्म प्राविधिक जनशक्ति चीनबाट आउनुपर्ने र अन्तर्राष्ट्रिय उडान नहुँदा पनि जनशक्ति आउन समस्या भएको उहाँले बताउनुभयो । विमानस्थलमा अहिले नेपाली र चिनियाँ गरी पौने तीन सय कामदारले काम गरिरहेका छन् ।

लकडाउन भएपछि करिब एक महिना भने विमानस्थल निर्माणको काम पूरै रोकिएको थियो तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई दुई महिनादेखि निरन्तरता दिएको छ ।

नदीजन्य पदार्थ बालुवा र गिट्टीको सहजतासँगै १० किलोमिटर पेरिमिटरको सडक निर्माण, टर्मिनल भवन र एप्रोनबीचको भाग ढलान भइसकेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सीसीटीभी, रेस्क्यु एन्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशतभन्दा बढी काम सम्पन्न गरिसकेको विमानस्थल निर्माण कम्पनीले २०२० मार्च ३१ सम्म सम्पन्न गर्ने अन्तिम म्याद पाएको थियो । त्यसपछि म्याद थपिएको छैन । म्याद थपबारे कन्सल्टेन्टले अध्ययन गरिरहेको आयोजना प्रमुख अधिकारीले बताउनुभयो ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन् २०१४ डिसेम्बर ३१ मा छ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपियाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो । सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । निर्माण कम्पनीले मधेस आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै यसअघि चारपटक म्याद थपिसकेको छ । आजको गोरखापत्र दैनीकमा यो समाचार छ ।


प्रकाशित | ५ असार २०७७, शुक्रबार ०८:२५