जातीय विभेद विरुद्धको आन्दोलनमा अमेरिकाबासी नेपालीले जनाए ऐक्यबद्धता

टेक्सस : नेपालको रुकुम स्थित चौरजहारीमा दलित भएकै कारण नबराज बिक र उनका सथिहरुमाथि भएको सामुहिक हत्याकाण्डप्रति अमेरिकाबासी नेपालीले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

अमेरिकासी नेपालीहरुले उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरता पुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग समेत गरेका छन् । डिसीमा एक कार्यक्रमकाबीच प्ले कार्डसहित विरोध कार्यक्रम गरेका नेपालीहरुले सो घटनाले नेपालका दलित तथा न्यायप्रेमीहरुको आत्मसम्मान चोट पुगेको छ र दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको जनाएका छन् ।

एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजक राजन त्रिपाठीले घटनाले नेपालमा जातीय भेदभाब जस्तो अमानबिय प्रथा कायमै रहेको मात्र नभई जकड़ीएर रहेको प्रस्ट हुने बताउनुभयो । ‘यसले नेपालको संबिधान र कानुनमा भएको जातिय छुवाछुत बिरोधि व्यवस्थाहरुको उलंघन मात्र गरेको छैन कि लोकतान्त्रिक समाजको खिल्ली समेत उडाएको छ’, संयोजक त्रिपाठीले भन्नुभयो ।

‘घटनाको निस्पक्ष छानबिन गर्न बिशेष प्रकारको संसदीय छानबिन समिति बने पनि सत्य तथ्य छानबिनका लागि हामी खबरदारी गर्न चाहन्छौ’, विरोध कार्यक्रममा सहभािग एनआरएनए अमेरिकाका उपाध्यक्ष समेत रहनु भएको कृष्णजीवी पन्तले भन्नुभयो, ‘र न्यायको माग पनि गर्दछौ। सबै प्रकारका विभेद विरुद्धको आन्दोलनहरुमा हामी ऐक्यबद्धता ब्यक्त गर्दछौं।’

यसै बीच अमेरिकामा प्रहरीद्वारा घाँटी थिचेर हत्या गरिएका जर्ज फ्लोयड लगायतको न्यायको लागि भएको आम्दोलन प्रति तथा सबै प्रकारका विभेद विरुद्धको आन्दोलनहरुमा ऐक्यबद्धता ब्यक्त गरिएको छ ।


प्रकाशित | २ असार २०७७, मंगलवार ०८:३८