विदेशबाट छुट्टीमा आएका घरेलु कामदारलाई पुन: रोजगारीमा फर्कन दिने सरकारी निर्णय

काठमाडौं – सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिलालाई स्वदेश आएर पुन: फर्कन पाउने व्यवस्था गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै रोजगारी गुम्ने डरले परिवार भेट्न नेपाल आउन नसकेका घरेलु कामदारलाई पुन: श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको बताउनु भएको छ ।

खाडी लगायत मुलुकमा नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएका कारण वर्षौँदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन पाएका थिएनन् ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका, २०७२ को दफा २३ बमोजिम बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गरी मन्त्री श्रेष्ठले अप्ठयारोमा परेका महिलाहरूलाई पुन:श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको बताउनु भयो ।

वैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका अनुसार बनेको समन्वय समिति र मन्त्रालयले गठन गरेको अध्ययन समितिले पनि प्रतिबन्ध लाग्नुभन्दा पहिल्यैदेखि नै ती मुलुकमा घरेलु कामदारका रूपमा काम गरिरहेका र पछि अवैध रुपमा गएका महिलाहरू परिवार भेट्न नेपाल आउन नसकेको भन्दै उनिहरुको पक्षमा निर्णय गर्न सिफारिस गरेको थियो ।

प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु कामदारहरू रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकोले फर्किन सकेका थिएनन् ।

पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी विदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पुरा गरेर पुन: श्रम स्वीकृति दिने र सम्वन्धित देशको नियोग र वैदेशिक रोजगार कार्यालयले उनिहरुको छुट्टै अभिलेख राख्ने व्यवस्था गरिएको छ ।

खाडी लगायत देशमा महिला कामदार पठाउन प्रतिबन्ध लगाइए यता महिलाहरू अनौपचारिक मार्ग प्रयोग गरी विदेशिने गरेका छन् । जसले गर्दा उनीहरूलाई जबरजस्ती श्रम र बेचबिखन जस्ता जोखिममा पारेको छ । प्रतिबन्धका कारण महिलाहरू सुरक्षित हुने भन्दा थप जोखिममा परेको मन्त्री श्रेष्ठले बताउनु भयो ।

अवैध रूपमा गएका महिलाको कुनै अभिलेख नहुनु, शोषण, बेचबिखन तथा ठूलो सङ्ख्यामा श्रम गन्तव्य मुलुकमा अलपत्र परेका छन् । २० चैत २०७३ मा व्यवस्थापिका–संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

सरकारले घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएका कारण अवैध बाटोबाट जाने कामदार झनै जोखिममा परेका छन् । यसको समाधानका लागि पनि सरोकारवालाहरुसँग छलफल गरी छिट्टै निर्णयमा पुगिने मन्त्री श्रेष्ठले बताउनु भयो ।


प्रकाशित | १० फाल्गुन २०७८, मंगलवार १८:३३