सस्तो भाडादरमा कुनै पनि एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश फर्काउदैँछौ: कुमार पन्त

काठमाडौं: गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको जानकारी गराउनुभएको छ । अध्यक्ष पन्तका अनुसार आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निर्णय गरेको हो ।

नेपाल सरकारले भाडादर तय गरेपछि उद्धार गर्नुपर्ने श्रमीकहरुले तीर्न नसक्ने र महँगो भएको भन्दै उपप्रधानमन्त्री तथा नेपाल सरकारको कोभिड १९ उच्चस्तरीय समिति संयोजक ईश्वर पोखरेलसँग आफूले कुरा राखेको र पर्यटन तथा श्रम मन्त्रालयको सचिवसँग छलफल गरेर आज सो निर्णय गरिएको जानकारी संयोजकबाट प्राप्त भएको अध्यक्ष पन्तले बताउनुभयो ।

यसअघि सरकारले नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र केही विदेशी विमानबाट मात्र उडान भर्ने निर्णय गर्दै भाडादर समेत तय गरेपछि ती उडानका लागि तोकिएको भाडादर निकै महँगो भएको भन्दै चौतर्फि विरोध भएसँगै सिसिएमसीले दुतावासको संयोजनमा सस्तोमा उडान हुने गरी जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश ल्याउन सकिने व्यवस्था गरेको हो ।

अध्यक्ष पन्तले सिसिएमसीबाट उक्त निर्णयको मौखिक खबर पाएको बताउँदै यसबाट स्वदेश फर्कने नेपाली चर्को टिकट शुल्कमा पर्नबाट बच्ने हुँदा यो स्वागतयोग्य कदम रहेको बताउनुभयो ।

‘कोरोना संक्रमणका कारण विदेशमा अफ्ठयारोमा परेका नेपालीलाई सस्तो भन्दा सस्तो भाडादरमा नेपाल फर्काउन संघले नेपाली दूतावाससँग सहकार्य गरेर अघि बढनेछ’, एनआरएनएले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पन्तले भन्नुभयो ।

त्यस्तै, नेपाली राजदूतावासँग सहकार्य गरि सस्तोमा नेपालीलाई उद्धार गर्नको लागि एनआरएनएले एक कमिटि समेत गठन गरेको जनाइएको छ ।


प्रकाशित | ३० जेष्ठ २०७७, शुक्रबार २०:४१