झ्याल (निबन्ध)

राजु खप्तडी बस्नेत/ फ्रान्स

झ्याल सामान्य झैँ लाग्छ। दैनिक जिवनमा यस्को प्रयोग प्रगाढ हुँदाहुँदै पनि मैले यस्को प्रशंसा खुल्ला रुपमा उत्रिएर कहिले पनि गरेको रैनछु। आज मसंग समय पनि छ, फुर्सद पनि छ त्यसैले एकचोटी यिनको वर्णन गरी दिउँ झै लागेको छ। मेरो ठिक्क विस्ताराको देब्रे पट्टी झ्याल बसेको छ। यहाँबाट हिमाल,जङ्गल,फाँटहरुका दृष्यहरु त देखिदैन। तर जब म टाउको निकालेर हेर्छु, म बस्ने घरको तल लमतन्न सुतेर आराम गरिरहेको सडक देख्छु। सडकको किनारामा रहेका खै कुन्नी के जातका रुखहरुले पालुवा फेरिरहेका छन। फाट्टफुट्ट केही बटुवाहरु झोला बोकेर,मुख छोपेर र एक अर्कासंग तर्सेर हिडिरहेका छन।

मेरो तल्लो फ्ल्याटको छिमेकीले केही फकाउँदै छ झै लाग्छ। मेरो झ्यालबाट मिठो खानेकुराको बासना आइरहेको छ।पर फुलबारीमा सुगन्धित फूलहरु फुलेछन क्या हो, मगमग सुगन्ध आइरहेको छ। एउटी विछट्टै राम्रो,पुतली झैं देखिने वस्त्रमा युवती निस्किइन कतै जान होला,उनको अत्तरको वासनाले शिशिरमा झरेका पत्करमा पनि प्राण आए झै हावासंग विन्ती माग्दै सल्बलाउन थालेको दृष्य म झ्यालबाट हेरिरहेको छु। पर संगितको धुन बजिरहेको छ त्यसैको छेउको बार्दलीमा एक अधबैँसे मेनका जस्तै देखिने अलौकिक परमसुन्दरी मेरो ऋषि मनमा भुइचालो जाने गरी कयौं तुफान ल्याएर उ भने मस्त घाममा आफुलाई सुम्पिरहेकी छ।अघि नै हो उसलाई थाहा छैन,मेरा भावहरु मेरो धरातलमा दरार पारेर उ भए तिरै फरार भएका छन।

आज घाम लागेका छन,बिहानै हो भानुरश्मीहरु मेरो कोठा भित्र छिरेका तर आज हतार छैन मलाई। म सुतेरै झ्याल तिर हेरिरहेको छु।यो किरणलाई स्रोतबाट मकहाँ आइपुग्न कम्तीमा पनि आठ मिनेट बिस सेकेन्ड लागेको छ।यी नयाँ हैनन केही समय पुराना हुन।यसैगरी यही झ्यालबाट जब राति म ताराहरु हेर्छु,ति ताराहरुको पिलपिल पिलपिल रोसनी त झन कयौं बर्ष पूराना हुन।मैले गनेको छैन तर यहाँबाट म लाखौं ताराहरु एकै चोटी देख्न सक्छु। झ्याल काँच, काठ, स्टील र केही प्लास्टीकको सहजडान र सहप्रेममा बनेको छ।तर यसको उद्देश्य र उपयोगिता ब्रम्हाण्डकै सह अस्तित्व संग गाँसिएको छ।यसको महत्व अतुलनीय छ।झ्याल बिनाको घर कस्तो देखिएला ? उज्यालो हराउँछ,दृष्य हराउँछ, बस एक कालकोठरी बनिदिन्छ। सृङ्गार हराउँछ,सुन्दरता लोप हुन्छ ,बस चार भित्तो मात्र बनिदिन्छ।

झ्याललाई समेटेर थुप्रै कविता र गितहरु बनेका छन ,सायद उपन्यास पनि बनेका छन।मैले सुनेका थोरै गितहरू जस्तै, ‘झ्यालै’ मा बसेर जिस्काउनु पर्दैनु, झ्यालबाट नहेरू, ‘आँखि झ्यालैमा’ मेरे सामने वाली खिड्कीमे एक चाँदका टुक्रा रहेता है’ । यी गीतहरुलाई हेर्दा झ्याल प्रेमको संवाहक पनि हो।मैले नै काठमाडौं बसेर पढ्दा त्यस बेलाको मेरो आफ्नो उमेरलाई मनमनै खाँदा माला लगाएर सम्मान गर्दै झ्यालबाट दुई चार छिमेकी घरहरुको बार्दलीमा हेर्ने गर्थें।गमलामा झुन्डिएका फूलहरु भन्दा पनि सुन्दर लाग्थ्यो ती शहाज्यादीहरु। सायद उनिहरुलाई पनि भान थियो यसले मलाई मात्र हेर्ने गर्छ भनेर।झ्यालमा सहि समयमा मिठो मुस्कानका साथ कहिले किताव पढे झै,कहिले काईयो कोरेझैं त कहिले यसै थाहै नभए झै नजरहरु हाजिर लाउन आइरहन्थे। म आफ्नो नयनरञ्जन मा प्रष्ट थिएँ,कसै प्रति भेदभाव थिएन,सबैलाई समदुरीमा,समभावले नयन-वार्तालाप गरि रहन्थे।हो उनिहरु मेरो नयन भाव व्यवस्थापनदेखि अनभिग्य थिए या म जस्तै ।संभावनालाई नकार्न सकिन्न।

ईतिहासका पनि झ्यालहरु छन,वर्तमान र भविष्यका पनि झ्यालहरु छन र हुने छन।इतिहासको झ्यालबाट इतिहास देखिन्छ।दविएका,लुकाइएका या सृङ्गारिएका घटनाहरु देखिन्छ। क्रुर,कहाली लाग्दो युद्धहरु अनि वेदनाहरु पनि सुन्न सकिन्छ। ऐतिहासिक झ्यालका परिदृश्यमा मानव सभ्यता र विकासलाई सुक्ष्म रुपमा बुझ्न र अध्ययन गर्न पनि सकिन्छ। अझ पृथ्वीको झ्यालबाट ब्रम्हाण्डको उत्पति र हाम्रो अस्तित्व सम्मलाई अवलोकन गर्न मिल्छ। वर्तमानको झ्यालमा सानदार बुट्टाहरु र उत्कृष्ट धागोहरुले बुनेका महङ्गा पर्दाहरूले ढाकेको देख्छु। पर्दाको बुट्टाहरु हैन प्रकृतिका छटाहरु हेर्नु पर्छ। नागबेली बगिरहेका नदिहरु हेरौँ,झ्यालबाट बथानका बथान उडिरहेका गौथलीहरु हेरौँ,निलो आकाश हेरौँ । यी बर्षौं बर्ष थुनिएका रहर बग्ने कुनै निकास खोजौं। पर्दा खोलौँ,झ्याल खोलौँ,वर्तमानमा सुसेलीहरु,खडेरीहरु या हरियालीहरु सबैलाई जिवनसंग जिवन्त बनाउं।भविष्यमा धेरै झ्यालहरु बनाउं, नौरित्यका सटिक राजमार्गहरु झ्यालसंग जोडिउन।यी राजमार्गमा मानवता हिडोस,प्रेम बहोस।सदाचार र उत्तम सम्यताको बगानहरुले सजिसजाउ समाज, राष्ट्र र देश बनोस। भविष्यको झ्यालबाट विशाल हृदयका पद्दतिहरुले व्यवस्थित सडक,नगर देखियोस।

घर र झ्यालको संबन्ध आत्मा भित्र पनि छ। स्वयं भित्र को झ्याल खोलेर स्वयं भित्र पनि हेर्न सकिन्छ। म के हुँरुको हुंरुचिन्न सकिन्छ। म भित्र समानान्तर थुप्रै सत्यहरु छन।थुप्रै पाठशाला र अनुभूतिहरू छन। यी कुराहरु बोध गर्न मनको झ्याल खोल्नु पर्छ। यो रोजमर्राको जिन्दगीमा सायद मान्छेले आफ्नो ब्रम्हाश्मी पहिचान छोडेर अरु पहिचान खोजिरहेको देख्छु। जति मान्छे भौतिक छ त्यो भन्दा धेरै अभौतिक तत्वहरुको सत्य लिएर हिडेको छ।वास्तवमा अभौतिक उर्जा लिएर भौतिक स्वरुपमा प्रर्दसन गरिरहेको छ।सत्य त्यही निस्वरुप र निर्वाध उर्जा हो।यसलाई आत्मीक झ्यालबाट हेर्न सकिन्छ। बर्षौं देखि चुकुल लाएर थुनिएका यी झ्यालहरु खोल्यौं भने दृस्य मनोरम छ।संवेगहरु स्वस्थ हुनेछन।विमार त यी मनको झ्याल नखोल्नेहरु छन,आफुसंग आफै नबोल्नेहरु छन,आफुले देखेको क्षीतीज भन्दा पर सत्य नदेख्नेहरु छन।

ब्रम्हझ्यालबाट नहेरिकन, जिवन के हो रुचेतना के होरुयस विषयमा बोल्नु या सर्तहरु सहित वा रहित परिभाषा दिनु नै समष्टिगत ज्ञान हो भनेर ढुक्क हुनु पनि अधुरो जस्तो लाग्छ। त्यसैगरी मनका झ्यालहरु खोलेर, मनन छ,बोध छ या महसुस छ भनी चुपचाप बसेर भारीभरकम व्यक्तित्वको पहिचान हो भनेर बुझ्नु पनि अधुरै जस्तो लाग्छ।त्यसैले सत्य त आखिर प्राकृतिक वेदको झ्यालबाट नै प्रष्ट देखिन्छ।कति बुझिन्छ प्रकृतिका स्वभावलाई ,नियम र नियन्त्रणका साथै उदारतालाई भन्ने कुरा यो ब्रम्हाण्डको सूक्ष्म झ्याल भित्र रहेको नक्षत्र प्रणाली को कुनै ग्रह भित्र अस्तित्वमा रहेको प्राणीको हैसियतले गणितीय र गैर गणितीय ब्रम्हचिकित्सा र उत्खनन गर्न सकियो भने बल्ल ब्रम्हाश्मी अस्तित्वको ब्रम्हरश्मी विम्बहरु मौलिक झ्यालबाट छिर्लान र घनिभुत अध्यारोलाई परास्त गर्लान।

विविध सोचको झ्यालबाट हेर्दा अनगिन्ती दृष्टिकोणहरु यो आकाशमा ओहोर दोहोर गरिरहेका हुन्छन ।कुनैले उचाइ लिन्छन कुनै भुइँ कुहिरो जसरी हिड्छन।सामाजिक दृष्टिकोण,व्यक्तिगत दृष्टिकोण लगायत अन्य थुप्रै दृष्टिकोणहरुको आधार मस्तिष्कको मुख्य झ्याल उघारेर गरिने अभ्यास नै हो।यी कोखे झ्यालहरु फराकिलो हुनै पर्छ अन्यथा यो निरन्तर बिस्तारित प्रकृतिले निर्धारण गर्ने ज्ञानशालाका अवयवहरु बुझ्न अझ असहज हुन्छ। व्यक्ति एक्लो देखिन्छ तर उ भित्र अनेकौ पात्रहरु जन्मने र नष्ट भइरहन्छन।जब मानिस अन्तरमनको झ्याल खोलेर स्वयंले स्वयं कै मुल्यांकन गर्दैन,आत्मा अभ्यास गर्दैन तब सम्म स्वयं संग अपरिचित रहीरहन्छ।स्वभावको झ्याल,स्व-अस्तित्वको झ्याल बन्द गरेर चाहे सन्सारकै भ्रमण गरोस मानिसले। चौद भुवन तिनै लोक घुमोस तर स्वयं भित्र ऊ दुर्गम रहन्छ। म के हुंरको हुं ? जान्नको लागि रहर ,ईच्छा र आत्मीय झ्यालबाट आफु भित्र कै दुरदराज ठाउँहरूको यात्रा गर्नै पर्छ अनि मात्र जीवन जीवन्त हुन्छ।

झ्याल विमानमा पनि छन ,झ्याल रेल अनि अरु सवारी साधनमा पनि छन।झ्यालबाट हेर्ने नै हो,दुर दिगन्त देख्ने नै हो।यो जिवन पनि एउटा साधन हो।यसमा अनगिन्ती झ्यालहरु छन।बुट्टे झ्याल,आँखि झ्याल,ठुलो झ्याल,सानो झ्याल आदि इत्यादि। जिन्दगीको झ्यालबाट चिहाएर हेर यहाँ झ्याल बाहिर पनि जिन्दगी छ,झ्याल भित्र पनि जिन्दगी छ। यी झ्यालहरु उघारै बसुन।हावा छिरोस, घाम आओस।अनि त्यसै गरि भावहरु बाहिर जाउन,डुलुन घुमुन मस्ती गरुन्।

बस्नेत हाल एनआरएनए फ्रान्स सचिव हुनुहुन्छ ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १०:२६