सार्वजनीक यातायात सञ्चालनबारे सरोकारवालासँग छलफल शूरु

काठमाडौँ: लकडाउन (बन्दाबन्दी) को कारण झण्डै साढे दुई महिना ठप्प भएका सार्वजनिक यातायात सेवालाई पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायसँग छलफल शूरु गरेको छ । बिभागले सार्वजनीक यातायात सञ्चालनसम्बन्धी कार्यविधि बनाएर सरोकारवालासँग छलफल शुरु गरेको हो ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार कार्यविधिमा सार्वजनिक यातायातभित्र यात्रुबीच कसरी दूरी कायम गर्ने, सवारी साधनलाई कसरी सुरक्षित बनाउने, भाडा दिने÷लिने कसरी गर्नेलगायतका विषय समावेश छ । थोरै सङ्ख्यामा यात्रु राख्ने, भाडा दिँदा विद्युतीय प्रविधिबाट वा बाकसमा यात्रुले राख्ने र नियमितरुपमा सवारी साधनमा सङ्क्रमण हटाउने कुरा कार्यविधिमा उल्लेख छ । कसरी यात्रु र सवारी साधनका कर्मचारी सुरक्षित भएर सञ्चालन गर्ने भन्नेमा छलफल भइरहेको छ ।

सार्वजनिक सवारी साधन खुल्ने मिति टुङ्गो नभए पनि सरकारले निर्णय गर्नासाथ सञ्चालन गर्नका लागि आवश्यक तयारी भइरहेको विभागले जनाएको छ । सरकारले रेड, ग्रिन र एल्लो जोन निर्धारण गरेर बन्दाबन्दीको स्वरुप परिवर्तन गर्न सकिने विषयमा छलफल गरिरहेको छ ।


प्रकाशित | २६ जेष्ठ २०७७, सोमबार १५:४०