भाइरसको भयबाट जोगिने प्रमुख उपाय: खानपान र जीवनशैली, जीवनशैली कसरी परिवर्तन गर्ने?

आरबी बुढाथोकी

यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ।

यो विश्वव्यापी भाइरसको भयबाट जोगिने प्रमुख उपाय भने हाम्रो खानपान र जीवनशैली नै हो। यो परिस्थितिबाट उन्मुक्तिका लागि केही समय अझै लाग्ने प्रस्ट छ र हामीले खानपान र जीवनशैली परिवर्तन गर्नु जरुरी छ।

लकडाउनको बेला घरमा रहेको अवस्थामा हामीले चाहेको जस्तो समान पनि किन्न पाउँदैनौ र नर्मल जीवनयापन भन्दा फरक तबरबाट रहनुपर्ने हुँदा सबैलाई केही कष्ट त छँदै छ। यसमा पनि नियमित जीवनशैलीबाट फरक शैलीमा दिन कटाउनु पर्दा अझ गार्हो भएको अवस्था छ र यसको अर्को विकल्प पनि छैन। तसर्थ खानपान र जीवनशैलीमा पूर्ण परिवर्तन गर्नु नै आजको आवश्यकता हो भन्ने बुझ्नु जरुरी छ। रोग अर्थात् भाइरस प्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) बढाउने खालका खाना खानु जरुरी छ।    

यो समयमा सकेसम्म घरमा धेरै सामान संकलन नगरौं। झोलिलो र हरियो सागपात बढी खाउँ। प्राचीन मौलिक नेपाली खानालाई बढी प्राथमिकता दिएर गुन्द्रुक, भटमास, सब्जी फाँडो, आलुतामा बोडी, रस मासु, जोगी जाउलो, मेथी जाउलो, दूध रोटी, दाल रोटी, कर्कलोको अचार जस्ता खाना खानु स्वास्थ्यकर हुन्छ।

तेल, चिनी र नुन तीन कुरा न्यून गरेर खाँदा यो समयलाई उत्तम मानिएको छ र ररुवा (तारेको) चिज र बाहिर पाइने फास्ट फुड पनि उपयुक्त मानिन्न। केकेमा पाइन्छ त इम्युनिटी पावर बढाउने खाना?      

सिट्रसयुक्त फलफूलहरु  कागती, जुनार, निबुवा, भगटे, किवी, अमला, अम्बा, मेवा, स्ट्रबेरी, जुनार, लिच्ची, लप्सी, चेरी जस्ता फलफूल जसमा अत्यधिक मात्रमा भिटामिन सी पाइन्छ र इम्युनिटी पावर बढाउन मद्दत गर्दछ। त्यसैगरी पार्सली, थाइम, रायोको साग या गुन्द्रुक, काले, सोयाबिन न्युट्रेला (मसेउरा), मिसो पेस्ट, सोया मिल्क, टोफु, सोया सुप, ब्रुसेल, ब्रोकाउली, पहेंलो भिडे खुर्सानी, हरियो सिमला मिर्च, गोलभेडा, स्नो पिज, केसर इत्यादी खाना तथा सब्जीमा पर्याप्त मात्रमा रोग प्रतिरोधात्मक शक्ति पाइन्छ।

प्राकृतिक एन्टिबायोटिक मानिने हुँदा लसुन, अदुवा, बेसार पनि अहिलेको स्थितिमा उत्तम मानिन्छ। त्यसैगरी भेटेसम्म चुकन्दर, विभिन्न ड्राइ नुट, मिक्स दाल, गेडागुडी, मकै, ग्रिन टी, एभोकाडो, चना, दही, किनोवा, डार्क चक्लेट, पर्याप्त पानी, स्याउ, अन्डा, कफी, सखर खन्डा, ब्राउन राइस, माछा र केराले पनि तपाईंलाई शक्ति प्रदान गर्दछ।

यदि तपाईंसँग रोगप्रतिरोधात्मक शक्ति (इम्युनिटी पावर) पर्याप्त छ भने भाइरस संक्रमण भए तापनि छिट्टै रिकभर हुन्छ। हामीले सहज अनुमान लगाउन सकिन्छ कि, कोरोना भाइरस साबुनपानी र सेनिटाइजरबाट रोक्न सकिन्छ भने यो आन्तरिक रुपमा प्रवेश नगरुन्जेल कुनै असर गर्दैन र सानो सावधानी अपनाएर इम्युनिटी पावर बढाएर रहन सकेमा सुरक्षित रहन सकिन्छ। लकडाउनको समयमा घरमै रहेर घर र घरको वरिपरि सरसफाइ राख्नु नै सजग हुनु हो।  

जीवनशैली कसरी परिवर्तन गर्ने? 
एक्कासि आएको यो महामारीका कारण हाम्रो दौडधुपको आफ्नै जीवनशैलीमा ब्रेक लागेको छ र अपत्यारिलो तबरबाट घरमा लकडाउनको रुपामा बस्नु परेको कारण हाम्रो दैनिकीमा अचानक परिवर्तन आएको छ। जसका कारण हामीलाई सहज रुपमा स्वीकार गर्न गार्हो भएको छ। यो विषम परिस्थितिमा संयम भएर घरमै बसेर जीवनशैली परिवर्तन गर्न सकेनौं घातक सावित हुनसक्छ।

अतः समयमै रुटिङ मिलाएर समयलाई सहज बनाउन सके उत्तम हुने र यसो गर्नाले हाम्रो शरीरमा भाइरस प्रतिरोधात्मक शक्ति पनि पर्याप्त उत्पन्न हुन्छ। समयमा सुत्ने समयमा उठ्ने नियमित एकै समय मिलाउने, पर्याप्त मात्रामा निद्रा पुगेन भने पनि शरीरमा इम्युनिटी पावर कम हुँदै जान्छ। आफ्नो दैनिकी सकेसम्म सरल बनाउन सक्नु नै उत्तम मानिन्छ। 

नियमित रुपमा योग, ध्यान, जप, पूजा गर्नाले पनि शरीरमा शक्ति उत्पत्ति हुन्छ र यसले शरीरलाई इम्युनिटी पावर दिन मद्दत गर्दछ। बहिर जान नपाए तापनि आफ्नो परिवारसँग रमाइलो र रचनात्मक काम गरेर एक अवसरको रुपमा लिन सकेमा पनि यसले तपाईंलाई सकारात्मक सोच तर्फ धकेल्छ र जीवनशैली सहज बनाउन पर्याप्त मद्दत गर्दछ। 

लागू पदार्थ, मादक पदार्थ, चुरोट तथा सुर्तीजन्य वस्तुले तपाईंको शरीरमा इम्युनिटी पावर घटाउनुको साथै नस्ट गर्न मद्दत गर्दछ। तसर्थ यस्तो समयमा यी चिजहरुबाट टाढै रहनु बुद्धिमानी मानिन्छ। यो समयमा आफ्ना बच्चालाई पनि निगरानीमा राखेर रचनात्मक काममा उत्प्रेरणा दिनुपर्छ। 

कोरना भाइरसको अहिलेसम्म कुनै भ्याक्सिन तथा औषधि नबनिसकेको हुनाले सचेतना र सावधानी नै उत्तम उपाय हो। सजक रहौं, सुरक्षित होऔं, केही समय धैर्य गरौं, संयम जगाऔं, घरमै बसेर सरकारलाई सहयोग गरी एक सचेत नागरिकको जिम्मेवारी निर्वाह गरेर भावी सन्ततिलाई स्वस्थ र सुरक्षित जीवन जिउने वातावरण सुरक्षित गरौं।

-(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सुसेफ हुन्)


प्रकाशित | २४ जेष्ठ २०७७, शनिबार १७:०३