लकडाउनमा तनाव व्यवस्थापन

डा बिनोद घिमिरे

कोभिड- १९ को नियन्त्रणका लागि घोषणा गरीएको बन्दाबन्दीले हामीमा  शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक असरहरु परिरहेका छन्। यो संगै हामीमा धेरै मानसिक तनाव उत्पन्न भएका छन्।

तनाव हाम्रो जीवनको अभिन्न अंग बनेको छ। ढुंगेयुगमा जंगलमा बसिरहदा बाँच्नको लागि अत्यावश्यक पद्धतीको रुपमा तनाव रहिआएको थियो। कुनै अत्यावश्यक अवस्थामा कि त भाग्नु पर्थ्यो कि त भिड्नु पर्थ्यो| यी दुवै अवस्थामा अत्यधिक उर्जाको आवश्यकता पर्थ्यो| यस्तो अवस्थामा हामीमा हुने सक्रिय पद्धतीको अत्यधिक प्रभाव रहनथ्यो। यसबाट हामीमा हुने खतरासंग जुध्न हामी सफल हुन्थ्यौँ| यो प्रकृति वा अस्तित्वले हाम्रो जीवनका लागि दिएको अमुल्य साधन थियो जुन कहिले काँही मात्र खतरायुक्त बेला मा आवश्यक थियो। जब हामी ढुंगे युगबाट आधुनिक जीवनमा आइपुग्यौं तब हाम्रा सुविधा र श्रोतका साथै हामी साना साना कुराहरुलाई समेत अत्यधिक खतरायुक्त चिजका रुपमा लिन थाल्यौं। फलस्वरुप अत्यावश्यक अवस्थामा सक्रिय हुनुपर्ने हाम्रो पद्धती जहिलेसुकै अधिक सक्रिय भैरहेको अवस्था छ। यस्तो बेलामा तनावको कारण तनाव हर्मोन (कोर्टिसोल)को मात्रा निरन्तर बढी भैरहेको हुन्छ। यहि अत्यधिक तनावको अवस्था नै नसर्ने रोगको प्रमुख कारण बन्नुका साथै दुखको कारण बन्न पुगेको छ।

यी तनावका कारण हामी मानसिक रोग जस्तै : चिन्ता, अनिद्रा, नैराश्यता, कुलत आदि लाग्न सक्ने खतरामा छौं भने दीर्घकालिन नसर्ने रोगको सहि व्यवस्थापन गर्नका लागि अप्ठ्यारो परिस्थितिमा छौं। तनावको सहि व्यवस्थापन हुनु नसर्ने रोगको सहि व्यवस्थापन तथा रोगसंग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन समेत सहयोगी हुने अनुसन्धानहरु छन्। यस्तो परिस्थितिमा तनाव, यसका प्रभाव तथा व्यस्थापन र हाम्रो स्वास्थ्यका बारेमा यहाँ चर्चा गरिन्छ।

अहिले कोभिड -१९ को महामारीको बेलामा पनि मस्तिस्कको अधिक सक्रियता भैरहेको अवस्था छ।

तनाव भनेको हामीसंग उपलब्ध स्रोत र आवश्यकता वा चाहेको परिणामबिचको दुरी पनि हो। अधिक चाहना राखियो तर त्यस मुताविक तयारी वा साधन छैन भने त्यो तनावको रुपमा परिणत हुन्छ।  नेपालको संदर्भमा पनि राष्ट्रका लागि अहिले कोभिड -१९ले यस विरुद्ध जुद्ध्नु पर्ने आवश्यकता र राष्ट्रका स्रोत बीचको दुरीले तनावको अवस्था सिर्जना गरिरहेको छ। तनाव भनेको हामीमा विभिन्न परिस्थितिको कारणले आएको मागले उत्पन्न गरेको हाम्रो शरीरको प्रतिक्रिया हो। यो प्रतिक्रिया कहिलेकाहीँ वास्तविक परिस्थिति नभए पनि मस्तिस्कले मानेको परिस्थिति बाट पनि उत्पन्न हुन्छ। जस्तै : डोरीलाई पनि सर्प देख्ने र सर्प आउँदा जस्तै भाग्ने वा भिड्ने प्रतिक्रिया हामीले अत्यधिक प्रतिस्पर्धा एवं देखासिकी वश पनि सामान्य परिस्थिति वा चिजलाई पनि अत्ययीक अवस्था मानि भाग्ने वा भिड्ने प्रतिक्रिया गर्ने गर्दछौ। यो नै अनर्थको प्रयास भैराख्ने हुन्छ। यो प्रतिक्रिया अहिले हामी यो महामारीमा कोभिड -१९ संग भाग्ने वा भिड्ने हिसाबको मानसिक प्रतिक्रियामा समेत गरिराखेका छौँ।

अहिले कोभिड -१९ को महामारीमा बन्दाबन्दी तथा अस्पतालमा रहदा तनाव होर्मोन (कोर्टिसोल)को मात्रा बढेर शरीरमा मुटुको धड्कन बढ्ने, मोटोपन हुने, उकुसमुकुस हुने, दुखाइ हुने, अम्लपित्त, हुने जस्ता रोग हुनुका साथै मन अस्थिर हुने, अनिद्रा, कार्यक्षमतामा ह्रास हुन्छ। साथै धेरै चिया, कफी प्रयोग गर्ने। काममा स्थिर हुन नसक्ने, कुलतमा जाने, धेरै चिकित्सककोमा जाने तर शारीरिक रोग नभेटिने, दुर्घटना बढ्ने, जस्ता व्यवहार समेत देखा पर्दछन्। यसले अरु  अस्वथकर आहार बिहार जस्तै : लागुपदार्थ तथा मादक  पदार्थको सेवन, अस्वस्थकर खानपान, व्यायामको कमि समेत उत्पन्न गरि रोगको प्रभाव बढाउँछ। तनाव हुँदै नहुनु पनि कार्यक्षमता कम हुनु हो। त्यसैले तनावको उपयुक्त मात्रा कायम राख्नु नै जीवनका लागि उपयोगी हुन्छ। स्वस्थ समाज निर्माण भएमा स्वास्थ्यमा राज्यले महामारी तथा उपचारका लागि गर्नुपर्ने खर्च समेत न्यूनीकरण हुन्छ।

तनाव नै अधिकांश मनोदैहिक रोगको कारण हो। यसले प्राणलाई असन्तुलित पारि अन्तत शरीरलाई नै रोगी बनाउछ।  

अहिले कोभिड -१९ को महामारीको बेलामा तनाव व्यवस्थापन गर्न मुख्यतया दुई किसिमका तरिकाहरु प्रयोग गरिन्छ। एउटा त तनाव उत्पन्न हुने अवस्था वा चिजलाई नै त्याग गर्नु, जस्तै : मेरो कुनै पारिवारिक सदस्यले मलाई तनाव दिएको महसुस भएमा उक्त सदस्यसंगको केहि समय सम्वाद  नै त्याग गर्ने।  कोभिड -१९ को महामारीको बेलामा  अरुसंगको भौतिक सम्पर्क कम गर्ने। अर्को भनेको तनाव दिने चिजलाई भन्दा पनि आफुमा हुने तनावको प्रतिक्रियालाई परिवर्तन गर्ने। जुन व्यबहारिक दृष्टिकोणबाट बढी उपयोगी हुन आउछ।

अहिले कोभिड-१९ बाट उत्पन्न तनाव व्यबस्थापनका लागि तनावको प्रतिक्रियालाई परिवर्तन गर्नु जरुरी छ। यसमा हामीले कोभिड -१९  को हाम्रो जीवनमा परेका नोक्सान तथा सिमितताको प्रभावलाइ कम गर्नुपर्छ। विश्वमा अहिले यस्ता कार्यक्रमको उपयोगिता र प्रभावको बारेमा विस्तृत अध्ययन भैरहेका छन्। यी अध्ययनहरुले हामीले उपयोग गर्ने यस्ता कार्यक्रमहरुको उपयोगिता समेत सिद्ध गरेका छन्। 

हाम्रा लागि बन्दाबन्दीको बेला तनावको प्रतिक्रियालाई कम गर्नका लागि निम्न सरल तरिकाहरु उपयोगी छन् :

•    नियमित बिहान बेलुका समय मिलाएर योगाभ्यास तथा व्यायाम गर्ने। जस्तै : सूर्य नमस्कार, आसन, प्राणायाम, ध्यान आदि।

•    ढाड सिधा हुने गरि बसेर आँखा बन्द गरि लामो गहिरो सास लिने छोड्ने।

•    सहज तरिकाले कुर्सीमै  वा भुइमा बसी लामो गहिरो सास लिँदै पेटलाई फुलाउने र सास छोड्दै पेटलाई खुम्चाउने। यो अभ्यासलाई ५ मिनेटसम्म दोहोर्याउने।

•    समय तथा अर्थको उचित व्ययास्थापन गर्ने।

•    आफ्ना कुराहरु नजिकको तथा विश्वसनीय व्यक्तिसंग व्यक्त गरि भित्रैबाट हल्का हुन सिक्ने।

•    लागुपदार्थ तथा मादक पदार्थको कुलत बाट मुक्त हुने।

•    आफ्ना मनका कुराहरु अरुलाई व्यक्त गर्न नसकिने अवस्थामा कलात्मक हिसाबले व्यक्त गरि हल्का हुने। जस्तै: चित्र बनाउने, मुक्तक, कथा, गीत आदि।

•    समय समयमा शरीरको शुद्धि गर्ने तथा उपवास गर्ने।

\•    जीवनमा अत्यधिक महत्वकांक्षा नराखी सरल र सहज हुन सिक्ने।

•    जतिबेला पनि महामारीको  समाचारमा केद्रित नहुने।

•    कम्पुटर तथा मोबाइल जस्ता विधुतिय सामाग्रीको प्रयोगलाई कम गर्ने। 

•    व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यमा ख्याल राख्ने।

•    स्वस्थकर खानपान गर्ने।

•    कम्तिमा पनि ६-७ घण्टा सुत्ने।

•    बिहान सबेरै उठ्ने तथा राति अबेरसम्म नबस्ने। 

तनाव व्यवस्थापन आफैले गर्ने कुरा हो। एउटा चिज र अवस्था पनि कसैलाई तनावको कारण बन्न सक्छ भने कसैलाई आनन्दको कारण बन्न सक्छ।  यो कोभिड -१९ को महामारीलाई समेत हाम्रो लागि स्वस्थकर जीवनशैली जिउने एउटा राम्रो अवसर पनि हुन सक्छ। त्यसैले सकेसम्म आनन्द आउने गरि काम गर्ने प्रयास गर्नु पर्छ। तनाव शारीरिक, मानसिक तथा व्यवहारगत समस्याको रुपमा पनि आएको हुन्छ। त्यसैले यस्तो अवस्थामा उपयुक्त विज्ञको सल्लाहमा उपचार तथा तनाव व्यवस्थापन गर्नु आवश्यक छ। स्रोत – स्वास्थ्य खवर

(लेखक आरोग्य नेपालमा योग तथा पुनर्स्थापना विशेषज्ञ हुन् |)


प्रकाशित | २० जेष्ठ २०७७, मंगलवार १३:३३