मेलम्ची खानेपानीको लागि ५ अर्बको बजेट विनियोजन, पानी आगामी वर्षदेखि पिउन पाउने

काठमाडौं : मेलम्चीको पानी काठमाडौंबासीले आगामी आर्थिक वर्षदेखि पिउन पाउने भएका छन् । अर्थमन्त्री ड. युवराज खतिवडाले सरकारले मेलम्ची खानेपानी आयोजनाको आवश्यक पूर्वाधार निर्माण कार्य चालु आवभित्र सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौं उपत्यकमा खानेपानी वितरण गरिने बताउनुभयो ।

बिहीबार मन्त्री खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गर्दै सो आयोजनाको दोस्रो चरण निर्माण शुरु गर्नको लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको पनि बताउनुभयो ।

यस्तै उहाँले आगामी आवमा काठमाडौं उपत्यका खानेपानी तथा ढल निकासा व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रविधिक र वित्तीय अवस्था सुदृढ गर्न र संस्थागत पुर्नसंरचना गरी व्यवसायीक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ मन्त्रालयलाई ४३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवमा मन्त्रालयका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।


प्रकाशित | १५ जेष्ठ २०७७, बिहीबार १८:३९