एनआरएनए अमेरिकामा सुनील साह नेतृत्वको एक वर्ष: के-के भए नयाँ काम ?

न्यूयोर्क:  गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकामा सुनील साह नेतृत्वमा रहेको कार्यसमितिले एक वर्ष पूरा गरेको छ । गैर आवासीय नेपाली संघका विश्वभर रहेका विभिन्न एनसिसीमध्य दुई वर्षे कार्यकाल ( २०१९-०२१) मा सबैभन्दा पहिला नयाँ नेतृत्व चयन गर्न सफल अमेरिकाको नयाँ कार्यसमितिले एक वर्ष पूरा गरेको हो ।

एनआरएनए अमेरिकामा गत बर्ष मे १८ र १९ तारिख दुईदिन गरेर निर्वाचन सम्पन्न भएको थियो । सो निर्वाचनबाट दुई वर्षे कार्यकालको लागि साह नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचीत भएको थियो । सो कार्यसमितिले एक वर्ष पूरा गरिरहँदा के कती उपलब्धी हासिल गर्यो र नयाँ काम के के भयो भन्ने विषयमा समिक्षा गरिन थालीएको छ ।

विशेष गरि साह नेतृत्वले निर्वाचन सम्पन्न भएलगतै नयाँ कार्यसमितिमा बाँकि मनोनयन गर्नुपर्ने पदहरु विवादरहित मनोनयन गर्दै कार्यसमितिलाई पूर्णता दिन सफल भएको थियो । नयाँ कार्यसमितिले पूर्णता पाएसँगै एनआरएनए अमेरिकाले आफनो गतिलाई तीब्रता दियो । नयाँ कार्यसमितिमा टिम वर्क भएकै कारण अमेरिका विश्वका विभिन्न एनसिसीको दाँजोमा अग्रप्रक्तीमा रहेको पाइन्छ । एनआरएनए अमेरिका अध्यक्ष सुनील साह आफनो एक वर्षे कार्यकालमा केहि महत्वपूर्ण कार्य भएको बताउनुहुन्छ , जसलाई निम्नानुसार उल्लेख गरिएको छ:-

इतिहासमा पहिलो पटक आइसिसीमा अमेरिकाको बलियो उपस्थिति

एनसिसी अध्यक्ष साह विशेष गरि आफनो कार्यकालमा महत्वपूर्ण कार्य भएको बताउनुहुन्छ । एनआरएनए अमेरिकाको इतिहासमै पहिलो पटक एनआरएनको केन्द्रीय समितिमा बलियो प्रभाव जमाउन सफल हुनु आफनो कार्यकालको सबैभन्दा ठूलो उपलब्धी भएको अध्यक्ष साह बताउनुहुन्छ ।

अहिले अमेरिकाबाट केन्द्रीय समितिमा उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा र सचिव गौरीराज जोशीले प्रतिनिधित्व गरिरहनु भएको छ । एक जना उपाध्यक्ष पदका उम्मेदवार तथा अमेरिकाको प्रमुख संरक्षक समेत रहनु भएको डा. केशव पौडेल झिनो मतान्तरले पछि पर्नु भएपनि समग्रमा यो एनआरएनए अमेरिकाको लागि सबैभन्दा ठूलो रेकर्ड भएको अध्यक्ष साहको विश्लेषण छ ।

आफनो कार्यकालमा केन्द्रीय समितिमा धेरैभन्दा धेरै ब्यक्तीहरु अमेरिकाको प्रतिनिधित्व गर्दै निर्वाचीत हुनुमा नै सबैभन्दा ठूलो उपलब्धी ठानेको छु, अध्यक्ष साहले विश्व सन्देशसँगको कुराकानीमा भन्नुभयो ।

युवा- विद्यार्थी लक्षित कार्यक्रमको थालनी

केन्द्रीय समितिमा अमेरिकाबाट धेरैभन्दा धेरैको प्रतिनिधित्व गराउन सफल भएसँगै एक वर्षे कार्यकालमा एनआरएनए अमेरिकाले युवा विद्यार्थी लक्षित कार्यक्रमको थालनी गरेकोमा अर्को ठूलो उपलब्धीका रुपमा लिइएको छ । अध्यक्ष साह अमेरिकाका विभिन्न क्षेत्रमा रहनु हुने नेपाली युवा विद्यार्थीलाई लक्षित गर्दै विभिन्न खालका जनचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम गर्न सफल हुँदै युवा विद्यार्थीलाई एनआरएनसँग जोड्न सफल भएकोमा अर्को ठूलो उपलब्धी भएको बताउनुहुन्छ ।

अध्यक्ष साह एनआरएनएको इतिहासमा पहिलो पटक युवा विद्यार्थीलाई लक्षित कार्यक्रम आयोजना गरिएको समेत बताउनुहुन्छ । युवा
विद्यार्थीका समस्या समाधानमा दिर्घकालीन योजना बनाएर लाग्ने उद्देश्यले कार्यक्रमको थालनीसँगै ‘प्रेसिडेन्ट युथ एण्ड स्टुडेन्ट फण्ड’ घोषणा पनि गरिएको थियो । सो कोषलाई अझै बृद्धि गर्दै लैजाने र युवा तथा विद्यार्थीका नियमीत कार्य सञ्चालनमा सहजता प्रदान गर्दै जाने योजना रहेको पनि अध्यक्ष साहले सुनाउनुभयो ।

कोभिड १९ मा खेलेको भूमीका

अहिले संसारभरि नै महामारीको रुपमा कोभिड १९ अर्थात कोरोना भाइरस फैलिरहेको छ । एनआरएनएले कोभिड प्रभावीत अमेरिकाबासी नेपाली समुदायको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विशेष गरि अमेरिकामा रहेका विद्यार्थीलाई एनआरएनएले खेलेको र खेलीरहेको भूमीका सराहनीय छ ।

एनआरएनए अमेरिकाले एनसिसीस्तरबाट कोभिड १९ सम्बन्धी आवश्यकताको आधारमा समिति खडा गरेर समस्यामा परेका नेपालीलाई सक्दो सहयोग गरिरहेको छ । अध्यक्ष साह आफनो कार्यकालको चार महिना कोभिड १९ कै कार्य गर्न बितेको बताउनुहुन्छ । यो समयमा अमेरिकाको विभिन्न ठाउँमा एनआरएनएले समन्वयकारी भूमीका निर्वाह गर्दै समस्यामा परेका विद्यार्थीलाई सहयोग गरेको र अझै पनि जानकारी पाउँना साथ विद्यार्थीलाई सहयोग गर्ने कार्य जारी राखिएको अध्यक्ष साह बताउनुहुन्छ ।

अमेरिकामा कोभिड–१९ को संक्रमणमा पर्नुभएका नेपालीको लगत संकलन गर्नेदेखि लिएर उहाँहरुलाई गर्नुपर्ने सहयोगका कार्य तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने काम संघले गर्दै आएको छ । गैर आवासीय नेपाली संघ अमेरिकाले कोभिड–१९ को प्रभावलाई गम्भिर रुपमा लिदैं अध्यक्ष साहको नेतृत्वमा उच्चस्तरीय सहयोग समिति समेत गठन गरेको छ ।

संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा. केशव पौडेलको संयोजकत्वमा स्वास्थ्य सहयोग समिति, विद्यार्थी सहयोग समिति, क्षेत्रीय तथा स्थानीय च्याप्टरमा सहयोग समिति तथा स्वयंसेवकको परिचालन, कोभिड–१९ हटलाइन सेवाको संचालन, कोभिड–१९ बारे जानकारी मुलक ई-पम्पलेटको निर्माण तथा सम्प्रेषण गर्ने काम गरेको छ ।

अमेरिका स्थित नेपाली दुतावाससँग सहकार्य गर्दै संघले नेपाल सरकारले गरेका निर्णयहरुलाई गैर आवासीय नेपाली बीच पुर्‍याउन पुलको काम गरिरहेको छ । साथैं अहिलेको यो विषम परिस्थितिमा अमेरिकाको केन्द्र सरकार, राज्य सरकार र स्थानीय सरकारले ल्याएका सहुलियतका कार्यक्रमहरु तथा विभिन्न सुरक्षा सम्बन्धि घोषणा गरिएका कार्यक्रमहरु बारे गैर आवासीय नेपालीलाई बुझाउन केन्द्र तथा च्याप्टर कमिटि मार्फत काम गरिरहेको छ ।

संघले आपकालिन राहत कोषको निर्माण गरेर आर्थिक सहयोग समेत संकलन गर्दै कोभिड १९ को असरका कारण आर्थिक समस्या सँग जुध्न बाध्य नेपालीहरुलाई सहयोग गरिरहेको छ ।  कोषबाट समस्यामा परेका विद्यार्थी लगायत गैर आवासीय नेपालीलाई सहयोग गरिएको हो ।

त्यस्तै, संघले नेपाली समुदाय भित्र कोभिड–१९ को असर कस्तो परेको छ र समाधानका लागि के गर्न सकिन्छ त्यस सम्बन्धमा विभिन्न पक्षमा केन्द्रीत रहेर अनलाइन कार्यक्रम संचालन गरिरहेको छ । त्यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने अध्यक्ष साह बताउनुहुन्छ ।

कोभिड–१९ को कारण संक्रमणबाट कसरी जोगिने, स्वास्थ्य सेवा कसरी लिने, कोभिड–१९ को प्रभाव नेपालीले संचालन गर्ने व्यापार व्यवसायमा कस्तो परेको छ, सरकारले ल्याएको राहत कार्यक्रममा कसरी समावेश हुन सकिन्छ, नेपाली विद्यार्थीमा परेको असर, आप्रवासीहरुलाई पारेको प्रभाव यी यस्ता धेरैं पक्षहरुमा केन्द्रीत रहेर संघले अनलाइन कार्यक्रम गरिरहेको छ । संघले अमेरिकामा रहनुहुने आम गैर आवासीय नेपालीको समस्यालाई सूचीकृत गर्दै आवश्यकता अनुरुपका कार्यहरु गरिरहेको अध्यक्ष साह बताउनुहुन्छ ।

त्यस्तै, कोभिड १९ को कारण अमेरिकामा रोकिएका, नेपाल जान इच्छुक ब्यक्तीहरुलाई स्वदेश फीर्ताको लागि नेपाल सरकार परराष्ट मन्त्रीसँग आवश्यक पहल गर्दै अनलाईन फाराम समेत भराइएको छ । अध्यक्ष साहले परराष्ट मन्त्री समक्ष अमेरिकामा अलपत्र नेपालीहरुको विषयमा अवगत गराएसँगै फीर्ताको लागि बचनबद्धता जनाएअनुसार अनलाईन फाराम भर्न आह्रवान गरिएको बताउनुभयो ।

‘एक बर्ष एक महिनाजस्तै बित्यो’

अध्यक्ष साह आफनो एक वर्षे कार्यकाल एक महिना जस्तै गरि बितेको बताउनुहुन्छ । ‘धरै काममा ब्यस्त भएर होला एक वर्ष पनि एक महिनाजस्तै लाग्यो’, अध्यक्ष साह अनुभव शेयर गर्दै भन्नुहुन्छ ।

अध्यक्ष साह थप्दै भन्नुहुन्छ, ‘एक बर्षमा हामीले ब्यबस्थापकीय काम शुरु गर्दै एनआरएनए अमेरिकालाई एउटा बलियो एनसिसिका रुपमा उभ्याउन सफल भएका छौं । आईसिसिमा पटक पटक हार खाएको एनआरएनए अमेरिकाले यो पटक दुई उपाध्यक्ष र सचिव सहित केहि महत्वपूर्ण पदहरुमा जीत हासिल गरेको गरेको छ । यो काम इतिहासकै सबैभन्दा ठूलो उपलब्धी हो ।’


प्रकाशित | ९ जेष्ठ २०७७, शुक्रबार १८:०४