बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ६० पुग्यो

लण्डन:  बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ । लण्डनस्थित नेपाली दूतावासले सोमबारसम्म ६० नेपालीको संक्रमणबाट मृत्यु भएको पुष्टी गरेको हो ।

मृतक ६० मध्ये ५० जना पुरुष र १० जना महिला छन् । त्यस्तै, ४९ जना भूतपूर्व गोर्खा र तीनका परिवारबाट छन् भने बाँकी ११ जना गैरगोर्खा रहेको लन्डनबाट सञ्चालीत नेपाली अनलाईन ‘नेपाली लिङ्क’ले उल्लेख गरेको छ। दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृतकहरुमध्ये करिब २० जनाको लण्डनमा र बाँकी ४० जनाको लण्डनबाहिरका शहरमा मृत्यु भएको हो ।

लण्डनबाहिर ननिटन, बेजिङस्टोक, रेडिङ लगायतका क्षेत्रमा बढी मृत्यु देखिएको छ । बेलायतमा सबैभन्दा बढि नेपालीको बसोबास रहेको अल्डरसट क्षेत्रमा भने तुलनात्मक रुपमा मृत्यु संख्या धेरै न्यून छ ।

त्यसैगरी, मृतकहरुमध्ये ८० प्रतिशतभन्दा बढी ७० वर्ष उमेर नाघेका छन् ।  दूतावासले गोर्खा वेल्फेयर ट्रस्ट, भूतपूर्व गोर्खाका संघसंस्था र विभिन्न काउन्सिलहरु समेत समन्वय गरी यो तथ्यांक जुटाएको बताएको छ ।

दूतावासका अनुसार यसअघि संक्रमित भएका धेरै नेपालीहरु भने अहिले निको भइसकेका छन् । हाल करिब २० जना संक्रमित नेपाली अस्पतालमा रहेको र अन्य तीस जना घरमै ‘आइसोलेसन’ मा रहेको दूतावासको तथ्यांक छ ।


प्रकाशित | ३० बैशाख २०७७, मंगलवार ०८:११