संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई पूर्ण रूपमा सिल गरियो

बुटवल : कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलका अनुसार आज साँझ ५ बजेदेखि  ५ गते मध्यरात १२ बजेसम्मका लागि जिल्लालाई पूर्ण रूपमा सिल गरिएको हो ।

कपिलवस्तुमा अहिलेसम्ममा १५ जना कोरोना संक्रमित व्यक्ति भेटिइसकेका छन् । आज मात्रै कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेका ७ जना, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा १ जना र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण भेटिएको हो । यसअघि मायादेवी गाउँपालिकामा ४ जना र सुद्धोधन गाउँपालिकामा कोरोना संक्रमित भेटिएका थिए ।


प्रकाशित | २९ बैशाख २०७७, सोमबार १६:४८