कोरोना भाइरसबाट विश्वभर ७८ नेपालीको मृत्यु, ५ हजार ५ सय ८१ जनामा संक्रमण

काठमाडौं : कोरोना (कोभिड १९ ) को कारण विश्वभर ७८ जना गैर आवासीय नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ  अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएई ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो ।

कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेहरुको संख्यामा युके २, स्वीडेन १, बहराइन १, युएईमा १ थपिएका छन् ।

यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ५ सय ८१  जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको छ ।

विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।

स्वास्थ्य समितिका अनुसार कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार, बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार १०:१४