नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष राम श्रेष्ठ (बोस ) को लकडाउन डायरी

राम श्रेष्ठ (बोस )

विश्वब्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना (कोभिड १९ ) ले यतिखेर संसारभरिका मानीसहरु आतंकीत छन् । विश्वका शक्तीशाली मुलुक समेत कोरोनासँग लडिरहेका छन् । नेपालमा पनि कोरोना नियन्त्रण तथा रोकथामको लागि लकडाउन गरिएको ४० औं दिन बित्तिसकेको छ । तपाईको झै मेरो पनि अहिले २४ सौ घन्टा घरमै बित्तिरहेको छ । अझ खुसीको कुरा के छ भने पहिला एक दिन पनि आमा बुबालाई समय दिन नसक्ने मैले अहिले दिनभर आमा बुबासँगै बस्न पाइरहेको छु । बाहिर हिडिरहँदा कामको दौडधुपले गर्दा होला समयमा खाना खानी फुर्सद समेत हुँदैन्थ्यो नत समयमा घर आउँने फुर्सद हुन्थ्यो । अहिले समयमा खाना खाने, सुत्ने, घरपरिवारसँग बस्ने एउटा राम्रो मौका भने कोरोनाले जुराइदिएको छ ।

घरमा लामो समय बस्दा पट्यार लाग्नु, बोर लाग्नु, अल्छी लाग्नु स्वभावीक हो । तर कोरोनाको क्रास हामीलाई मात्र नभई पूरै मानव जातीको लागि नै ठूलो संकटपूर्ण अवस्था हो । यो अत्यन्तै कष्टकर र चुनौतीपूर्ण अवस्था भएकाले केहि समय दुख भए पनि घरभित्रै बस्नुपर्छ भन्ने भित्रैदेखि भावना आउँने गर्छ । दैनीक शारीरीक अम्यास गर्ने गरेको बानी अझ हामी जस्तो खेल क्षेत्रमा लागेका मानीसहरु त एकै ठाउँमा बस्नै नसक्ने रहेछ । तर समय, परिस्थिति अनुसार चल्नुपर्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन । त्यसैले बिहान सबेरै उठेर घरभित्रै गर्न सकिने शारीरीक अम्यास गर्ने गरेको छु । विशेष गरि छतमा गएर बिहान एक घन्टा शारीरीक अम्यास गरिरहेको छु । अनी बिहानै उठेर मनलाई आनन्दीत बनाउने खालका विभिन्न संगीत सुन्ने, हल्का नास्ता खाएर शारीरीक अम्यास गर्ने गरिरहेको छु । लगभग घरमै शारीरीक अम्यास गरेको पनि ४० दिनभन्दा बढी भएर होला थाहै नपाई बानी बसिसकेछ । बिहानको अन्य समय भान्सामा बसेर खाना पकाउने कार्य गरिरहेको छु । विशेष गरि घरमा जे छ मिठो मसिनो विभिन्न परिकार बनाएर आमा बुबालाई खुवाउन पाउँदा अत्यन्तै खुसी मिल्ने गरेको छ । ताकी जीवनमा अनेक काम गरियो घरमै आमाबुबालाई यसरी आफनै हातले पकाएर खाना खुवाउन पाएको थिएन । तर कोरोनाले मेरो आमा बुबालाई खाना पकाएर खुवाउने अवसर पनि जुरार्यो । दिउँसोको समयमा प्राप्य जसो साथी भाइहरुसँग फोनमा कुराकानीमा ब्यस्त हुने गरेको छु । भैसैपाटीको आफनै निवासमा बसेर दिनभरि विभिन्न खेलाडी साथीहरुसँग दुख सुखका कुरा गर्ने, खेलाडी साथीहरुलाई समस्या भएमा सम्पर्क गर्न आग्रह गर्दै दैनीकी बित्तिरहेको छ ।

विशेष गरि भूकम्पताका ब्यक्तीगत रुपमा सक्दो सहयोगमा जुटेको थिए । तर यो यस्तो समय आयो कि घरभित्रै बस्नुपर्ने, मानीससँग सम्पर्क गर्न नहुने र गरे रोग सर्ने भएकाले विगतको स्थिति र अहिलेको परिस्थिति विल्कूल फरक छ । साथीहरुले यो कुरा बुझनु हुन्छ जस्तो लाग्छ । बरु टाढै बसेर पनि आफूले सक्दो सहयोग गरेमा यती बेला सबैको भलो र हित हुन्छ । भित्रभित्रै मैले पनि ब्यक्तीगत रुपमा विभिन्न ठाउँमा विभिन्न साथीहरुलाई सक्दो सहयोग गरिरहेको छु । यद्यपी बाहिर फिल्डमै निस्केर भने तत्कालको लागि चाहेर पनि गर्न सकिरहेको छैन । ढिलै भए पनि समस्यामा परेका नेपाली विशेष गरि खेलाडीहरुको लागि केहि गर्ने सोच बनाइरहेको छु । हेरौ, समय परिस्थितिले कती साथ दिन्छ र कस्तो मोड लिन्छ त्यहीअनुसार अगाडि बढ्ने सोच बनाएको छु ।

यतिखेर घरबाहिर निस्केर सान देखाउने, शक्ती र पहुँचको अनावश्यक दुरुप्रयोग गर्ने बेला कदापी होइन । राहतको नाममा जथाभावी पास लिदै बाहिर निस्केर मानौ कुनै युद्ध जितेजस्तो गरि सडकमा तमासा देखाउने समय पनि यो बेला होइन । अझ राहतको नाममा पास लिएर सडकमा निस्कँदै सामाजीक सञ्जालमा लाईभ गर्दै हिड्ने, मानीसलाई घृणा लाग्ने र मानीसलाई नै निरास बनाउने बेला पनि होइन भन्ने हामीले बुझनुपर्छ । सामाजीक सञ्जालमा त्यस्ता घिनलाग्दा गतिविधी देख्दा असाध्यै चित्त दुख्छ । यसले त पीडित मान्छेलाई झन गाह्रो पार्न खोजेको जस्तो देखिन्छ । यो बेला सबै मानीसलाई माया, सान्त्वनाको खाँचो छ । हो, हामीले साँच्चिकै पास लिएर राहत बाँडन चाहान्छौ भने उनीहरुको दुखेको घाउमा मल्लम लगाउने हो । अझ सामाजीक सञ्जालमा लाईभ गर्दै पासको दूरुप्रयोग गर्ने भन्दा पासको सदुप्रयोग गर्दै बाटा बाटामा हिडेर घर जान विवश ती सयौं मानीसलाई गन्तब्यमा पुर्याउन सकिएमा बरु समाजसेवा होला भन्ने कुरा तपाई हामीले बिर्सन हुँदैन ।

यो बेला दुख सुख सहेर घरभित्रै बस्ने हो । हामीभन्दा ठूलाठूला र शक्तीशाली देशलाई त समस्या परेको छ भने हामीलाई समस्या नपर्ने त कुरौ भएन । हाम्रो जस्तो गरिवी देशमा यो महामारीको रुपमा फैलियो भने के हालत हुन्छ भन्ने कुरालाई सबैले मनमा राख्नुपर्छ । जीन्दगी धेरै लामो छ । यो बेला अलीकती दुख सुख सहेर भएपनि घरमै बसौं । भोलीका दिनमा ज्यान जोगिएछ, सुरक्षीत भइएछ भने सबै चीज पाइन्छ । तर ज्यानै रहेन भने अरु कुरा कल्पना गर्न सकिन्न । आफू स्वयं अमेरिकादेखि यूरोपका अहिले महामारी फैलिरहेको विभिन्न देशमा पुगेकाले होला त्यस्तो सुविधा सम्पन्न देशमा त महामारी फैलियो भने हाम्रो देशमा फैलिएमा कस्तो हालत होला भन्ने असाध्यौ चिन्ता लाग्छ । तर नेपाल सरकारलाई धन्यवाद दिनैपर्छ । किनकी समयमा बुद्धि पुर्याएर अन्तराष्ट्रिय उडानहरु बन्द गर्दै लकडाउन घोषणा गरियो । लकडाउन घोषणा बेलैमा गरेकै कारण नेपालमा महामारीको रुपमा फैलिन पाएको छैन । यदी हामी समयमै सचेत नभएको भए हाम्रो हालत के हुन्थ्यो ? तर यतीमै खुसी हुने कुरा पनि छैन । अझै हामीले कष्टकर जीवन बिताउनेपर्नेछ । किनकी भोलीका दिनमा विदेशमा रहेका लाखौ लाख नेपालीहरु स्वदेश फीर्ता आएपछि हाम्रो स्थिति के होला ? भन्ने अर्को चिन्ता छ । अहिलेको लागि लकडाउनले सबैलाई दुख त छ तर केहि समय दुख आफनै लागि हो । कसलाई रहर छ र लकडाउनमा बस्न ? सबै कुरालाई बिर्सेर घरभित्रै बस्नु रहर होइन बाध्यता भन्ने कुरा बुझदै सरकारी नियमलाई पूर्ण रुपमा पालना गर्नुपर्छ । यदी हामीले अलीकती पनि लापरवाही र हेलचेक्रयाई मात्र गरियौं भने भोलीका दिनमा इटालीमा कस्तो हालत भयो त्यस्तै नियती हामीले पनि भोग्नुपर्ने देखिन्छ । इटालीले आफनो स्रोत र साधनलाई भरपूर उपयोग गर्दै मृत्युदर र संक्रमीत संख्या बढे पनि देशलाई त बचाउन सक्यो भने भोलीका दिनमा हाम्रो देशमा महामारी फैलिएमा नेपालकै अस्तित्व समाप्त हुनेतर्फ सबै सचेत हुनुपर्छ । सरकारले पनि अबको दिनमा लकडाउनलाई अझ कडा बनाउँदै मुलुकलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सक्दो प्रयास गर्नुपर्ने देखिन्छ ।

अहिले संसारभरिका मानीसहरु कोरोनाको कारण आक्रान्त र पीडित भइरहँदा खेलकुद क्षेत्रमा पनि त्यसको असर पर्नु कुनै नौलो होइन । अहिले सारा संसार नै कोरोना विरुद्ध लडिरहेकाले हरेक क्षेत्र तहसनहस भएजस्तै विश्वमा ठूलाठूला खेलकुद प्रतियोगीता पनि स्थगीत गरिएका छन् अर्थात सरेको छ । यो असर हामीलाई मात्र नभई संसारलाई नै परेको छ भन्ने कुरा हामीले मनमा राख्नुपर्छ । खेलाडी भाई बहिनीहरुलाई सकभर यो बेला घरभित्रै बस्दै सुरक्षीत रहन पहिलो आग्रह गर्न चाहान्छु । त्यसपछि आफूले सक्ने सक्दो सहयोग गर्न पनि आग्रह गर्न चाहान्छु । केहि समयको दुखपछि अवश्य सुख पनि आउँनेछ भन्ने मनमा लिदैं लकडाउन गर्नु नत सरकारको रहर हो नत हामीलाई रहर हो । यो बाध्यता हो । यो जटिल परिस्थितीमा सबै जना आआफनो ठाउँमा सचेत र धैर्य तथा सहनशील भइ बस्न आवश्यक छ । साथीहरुलाई मैले सकेसम्म फोन गर्दै सम्झने, दुख सुखका कुरा शेयर गर्ने सक्दो प्रयास गरिरहेको छु । साथीहरुलाई चाँडै मैले सकेको सहयोग गर्ने इच्छा छ । अन्तमा यतिखेर हामी नजिक बसेर भन्दा टाढा बसेर भएपनि मनलाई भने नजिक बनाउँदै कोरोना विरुद्धको लडाईमा एकजुट भई अगाडि बढौ भन्ने सन्देश प्रवाह गर्न चाहान्छु । धन्यवाद ।

राम श्रेष्ठ  (बोस ) थ्रिस्टार क्लवका कोषाध्यक्ष तथा म्यानेजर, नेपाल भारोत्तोलन संघका  केन्द्रीय अध्यक्ष, नेपाल टेड्सिनल ताईक्वान्दो फेडेरेशनका अध्यक्ष र नेपाल युथ ग्रुपका अध्यक्ष समेत हुनुहुन्छ ।

प्रस्तुती: किरण बुढाथोकी


प्रकाशित | २१ बैशाख २०७७, आईतवार १९:०२