एनआरएनएको भाषा साहित्य समितिद्धारा नियात्रा संग्रहको लागि रचना माग

काठमाण्डौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले नियात्रा संग्रहका लागि रचना माग गरेको छ । नेपाल बाहिर संसारका विभिन्न देशमा रहेका नेपाली लेखकहरुलाई आफ्नो यात्रा अनुभवहरु पठाउन समितिले माग गरेको हो । समितिले सन् २०२० भित्र नियात्रा संग्रह प्रकाशन गर्न लागेको हो ।

समितिका अनुसार गैरआवासीय नेपाली लेखकले नेपाल बाहिरको यात्रा अनुभव लेखेको हुनुपर्ने छ । साथै आफू बसेको वा घुमेको स्थानको अनुभूति, भूगोल, सामाजिक बनौट र सांस्कृतिक पक्ष रोचक रुपमा समेटिएको रचनालाई प्राथमिकता दिइने छ ।

रचना पठाउँदा देवनागिरीमा शुद्धसँग टाइप गरेर बढीमा ३ हजार सम्मको शब्द हुनुपर्ने र जुलाई ३० भित्र समितिको इमेलमा पठाइसक्नु पर्नेछ ।

समितिका अध्यक्ष हिक्मत थापाका अनुसार संसारभरीका विभिन्न देशमा रहेका २० देखि २५ जना नेपाली लेखकहरुको रचना समेटिने उक्त संग्रहमा ७० हजारसम्म शब्द हुनेछन् भने पुस्तक ३०० पृष्ठको हुनेछ ।

नेपाली रचना पढनेलाई नेपाली लेखकहरु पनि संसारको कुना काप्चाको माटो टेकेका छन र त्यसको सुवास लिएका छन अनि त्यसलाई उत्कृष्ट शैलीमा पाठकलाई पस्कन सक्छन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले प्रकाशन गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो ।


प्रकाशित | १७ बैशाख २०७७, बुधबार १८:४३