एनआरएनए फान्सको सराहनीय कार्य : समस्यामा परेका ५५ नेपालीलाई राहत वितरण

पेरिस  : गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सले समस्यामा परेका नेपालीलाई राहत वितरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को कारणले उत्पन्न असामान्य परिस्थितिका कारण समस्यामा परेका नेपालीलाई एनआरएनए फान्सले सहयोगस्वस्प राहत वितरण गरेको हो ।

एनआरएनए फान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) का अनुसार राहतको लागि जम्मा ५५ जनाको निवेदन परेकोमा सबैलाई राहत वितरण गरिसकिएको हो । उहाँहरुलाई खाद्यान्न राहत सामाग्री वितरण गरिएको र त्यसमध्ये ५१ जना विद्यार्थी रहनु भएको अध्यक्ष शाहीले बताउनुभयो ।

अध्यक्ष शाहीले राहत वितरण कार्यक्रमलाई पुर्ण सावधानी र अनुशासनमा रहेर सम्पन्न गर्न सफल भएकोमा खुसी ब्यक्त गर्नुहुँदै राहत वितरणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

पहिलो चरणको राहत वितरण कार्यक्रम निकै कडा सुरक्षा चुनौतीकाबीच वितरण गरिएको बताउँदै अध्यक्ष शाहीले फ्रान्स सरकारले बढाएको थप अनुशासनको परिबन्द र परिस्थितिको संवेदनशीलतालाई मनन गरि अर्को सुचना जारी नभएसम्मका लागि राहत कार्यक्रमलाई स्थगित गरिएको समेत जानकारी गराउनुभयो ।

एनआरएनए फान्सले एक प्रेस बिज्ञप्ति जारी गर्दे एनआरएनए फ्रान्स सदैव स्रोत र साधनले भ्याएसम्म समस्याहरु सुन्न र हल गर्न तयार रहने जनाएको छ। यसका लागि एनआरएनए फ्रान्सको ढोका खुल्लै रहने समेत जनाएको छ ।

त्यस्तै, एनआरएनए फान्सले विभिन्न चुनौती र आलोचनाकाबीच राहत वितरणमा सहयोग गर्नुहुने एनआरएनए फ्रान्सका वर्तमान सल्लाहकार बसन्त विक्रम मल्ल,आइसीसी पान कुमारी मल्ल, विशेष सहयोगी अनिस त्रिपाठी ,राहत वितरण उपसमितीका संयोजक अमर बहादुर भण्डारी, सह संयोजक लाल बहादुर चन्द (सोडारी) लगायत राहत वितरण उपसमितिका सदस्यहरु दिलिप गुरुङ, उदयराज पाण्डे, संगीता तिमल्सिना, कमल काफ्ले र मिली उपाध्याय कोइरालाप्रति धन्यवाद ज्ञापन समेत गरेको छ ।


प्रकाशित | ४ बैशाख २०७७, बिहीबार १४:०४