यात्रुलाई काठमाडौं बाहिर पठाउने निर्णय भएको छैन : ईश्वर पोखरेल

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यात्रुहरुलाई काठमाडौं बाहिर पठाउन नसकिने बताउनुभएको छ ।

शुक्रबार र शनिबार दुई दिनका लागि राजधानी बाहिर पठाउने निर्णय सार्वजनिक भएलगत्तै पोखरेलले प्रेस नोट सार्वजनिक गर्दै काठमाडौं बाहिर यात्रुलाई पठाउन नसकिने धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘यस किसिमको कुनै निर्णय नभएको, कोभिड १९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरताका साथ महसूस गरी ‘बन्दाबन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्रीज्यूले देशबासीका नाममा हालै गर्नुभएको सम्बोधनमा समेत यसको आवश्यकतालाई गम्भीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं ।’

कोरोना नियन्त्रणको कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्तो गम्भीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।’


प्रकाशित | २७ चैत्र २०७६, बिहीबार १८:३७