लकडाउन थप कडा पार्ने र विदेशबाट आएका व्यक्तिको परीक्षणलाई तीव्रता दिने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले लकडाउनलाई थप कडाई गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई अझ कडा बनाउने निर्णय गरेको हो ।

नेपाल टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता ड. युवराज खतिवडाले विदेशबाट फर्किएका तथा क्वारन्टीनमा रहेका व्यक्तिहरूमा व्यापक रूपमा परीक्षण गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रवक्ता खतिवडाका अनुसार सरकारले देशव्यापी रूपमा आवागमनमा लगाएको प्रतिबन्ध अझ प्रभावकारी बनाउने निर्णय गरेको छ ।
नेपालभित्रै स्थानीयलाई सङ्क्रमण भएको पुष्टि भएपछि तथा भारतबाट फर्किएका अन्य दुई व्यक्तिमा सङ्क्रमण भेटिएपछि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागु गर्ने निर्णाय गरेको छ । यस अनुसार १ जिल्लाबाट अर्को जिल्लामा पनि पाइने छैन ।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङ जिल्लामा क्वारन्टीनमा राखिएका व्यक्तिहरू तथा विदेशबाट फर्किएका व्यक्तिहरूको परीक्षणमा तीव्रता दिने निर्णय समेत गरेको छ । साथै स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गर्ने व्यवस्था सरकारले मिलाउने निर्णय गरेको छ ।

यसअघि सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म गरेको लकडाउन एक साता चैत्र २५ गते मध्यरातसम्म थपेको छ । साथै अन्तर्राष्ट्रिय उडानमा वैशाख ३ गतेसम्म रोक लगाइएको छ।


प्रकाशित | २२ चैत्र २०७६, शनिबार २०:३६