कोरोना सामाग्री ल्याउने ओबिसिआईसँग सम्झौता रद्द, ५ करोड धरौटी जफत

काठमाडौं : सरकारले कोरोना उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले कोभिड १९ को मिडिया ब्रिफिङमा ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरिएको जानकारी गराउनुभएकोे हो ।

श्रेष्ठका अनुसार ओबिसिआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको हो । सामान ल्याउन सरकारले प्लेन पठाएर सहजीकरण गर्दै सहयोग गरे पनि उहाँहरुले सम्झौता अनुसार तोकिएको समयमा सामान ल्याउन नसकेकाले सम्झौता रद्ध गरिएको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले भन्नुभयो, ‘हामीले जति भनेका थियौ, उहाँहरुले जति ल्याउनु पर्ने थियो ३० तारिख भित्र त्यो ल्याउन सक्नु भएन। कबुल गरेको सामानको १० प्रतिशत हाराहारीमा मात्र ल्याउन सक्नुभयो। दोस्रो लट भोली पेस गर्ने समय छ। तर उहाँहरुले भोली सामान ल्याउने कुनै सम्भावना छैन। ल्याउन सक्छौं भन्ने प्रतिवद्धता पनि छैन। त्यसकारण सम्झौता रद्द गरिएको छ ।’  श्रेष्ठले ओबिसिआईले सम्झौता अनुसार काम गर्न नसकेपछि  ५ करोड धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने  बताउनुभयो ।

पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झौता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजा एन९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ । तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।

महानिर्देशक श्रेष्ठले सम्झौता तोडेसँगै बिहीबार पुन: नयाँ प्रक्रिया सुरु गर्ने जानकारी दिनुभएको छ । श्रेष्ठले भन्नुभएको छ, ‘अब तुरुन्तै अर्को प्रक्रिया भोली फेरि सुरु गर्दैछौं, हामीसँग पहिलाका टेन्डरका साथीहरुलाई पनि बोलाएका छौं, उहाँहरुले कति समान दिनुहुन्छ सम्झौता गरिसकेपछि कति थप आवश्यक छ तीन दिनको सूचना भोली निकाल्छौं। उहाँहरुले सस्तोमा दिन्छौं भन्नु भएको छ। म सस्तोमा दिन अनुरोध गर्दछु।’

उहाँले नयाँ टेन्डर प्रक्रियाका लागि पनि पाँच दिन भित्र सामान ल्याउने गरी समय दिने समेत जानकारी गराउनुभयो ।  सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।

सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो। स्वास्थ्य सम्बन्धी सामाग्री आयात गर्ने व्यवसायीहरुको संगठनले निश्चित व्यवसायीसँग मात्र प्रचलित बजार मूल्य भन्दा अधिक मुल्यमा स्वास्थ्य मन्त्रालयले चीनबाट सामान खरिद गरेको भन्दै विरोध भएको थियो ।


प्रकाशित | १९ चैत्र २०७६, बुधबार १७:४८