ललितपुरको अवस्था सामान्य, रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरियो

ललितपुर- रातो मच्छेन्द्रनाथको रथयात्रालाई लिएर बिहीबार तनावग्रस्त बनेको पुल्चोक क्षेत्रको अवस्था आज सामान्य छ । जिल्ला प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेपछि अवस्था सामान्य बनेको हो । बिहीबार रातो मच्छेन्द्रनाथको रथ तान्ने बिषयमा स्थानीय र प्रहरी बिच झडप भएको थियो ।

आज कर्फयूपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कर्फयूको पुर्ण पालना भएको छ भने अहिले सहमतिअनुसार रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएकोहो ।

८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएको रातो मछिन्द्रनाथ पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्यले जानकारी गराउनुभयो । शाक्यका अनुसार बुंगमतिका भैरवनाथको क्षमा पूजा गरेर पुल्चोकमा आएर क्षमा पुजा गरिएको हो।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति अनुसार आज क्षमा पूजा भइरहेको हो । सहमतीअनुसार आज क्षमा पुजा गर्ने, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पुर्याएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ ।

रातो मच्छिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिसहित ललितपुरका सांसद, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको सहभागितामा सहमति भएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने सहमति भएको जानकारी दिनुभयो ।


प्रकाशित | १९ भाद्र २०७७, शुक्रबार १३:४१