अस्ट्रेलीयामा नेपाली विद्यार्थीलाई राहत वितरण कार्य तीब्र, कुन राज्यमा कती विद्यार्थीले पाए राहत ?

सुशील चालिसे /मेलबर्न  

गैर आबासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलीयाले कोरोना भाइरसको महामारीको कारण समस्यामा परेका नेपाली विद्यार्थीहरुलाई राहत वितरण कार्य शुरु गरेको छ । अध्ययनका लागि अस्ट्रेलीया आएका नवआगन्तुक नेपाली विद्यार्थीहरुको सामान्य जनजीवनमा महामारीले पारेको असरलाई  मध्यनजर गर्दै यही मार्च २३ तारिख देखि राहत वितरण कार्य शूरु गरिएको हो । अभियान अन्तर्गत राहतस्वस्प खाद्यान्न वितरण गरिएको हो ।

राहतका लागि एनआरएनए अस्ट्रेलीयाले बनाएको मापदण्डमा पर्ने विद्यार्थीहरुले मात्र पाउन सक्ने ब्यवस्था छ । आवश्यक विद्यार्थीहरुलाई छिटो भन्दा छिटो राहत वितरण गर्न सकियोस भन्ने उद्देश्यले मापदण्ड अनुसार अस्ट्रेलीयामा हालसालै आगमन भएको हुनुपर्ने, बेरोजगार, सेल्फ आईसोलेसनमा बसेको हुनुपर्ने, स्थानीय रुपमा कोही नजिकको परिवारबाट सहयोग नभएको र नेपाली दूतावास तथा महावाणिज्य दूतावासलाई जानकारी गराएको हुनुपर्नेछ ।

हालसम्म अस्ट्रेलीयामा ३ हजार ६०० भन्दा बढी मानीसहरु कोरोना भाइरसबाट संक्रमीत भएका छन् । यसमध्ये न्यु साउथ वेल्स राज्यमा ४ जना, भिक्टोरिया राज्यमा ३ जना गरेर जम्मा ७ जना नेपालीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्यु साउथ वेल्समा १ र तास्मेनीयामा १ जना नेपाली यस भाइरसबाट मुक्त हुन सफल भइसकेका छन् ।

गैर आजासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलीयाका विभिन्न राज्यका राज्य को अर्डीनेटर हरुबाट राहत वितरण तीब्र रुपमा भइरहेको जनाकारी प्राप्त भएको छ ।

एनआरएनए भिक्टोरियाका को-अर्डीनेटर प्रेम कँडेलले अहिलेसम्म भिक्टोरियामा १०० जना भन्दा बढी विद्यार्थीहरुले राहतका लागी लिखीत रुपमा फर्म बुझाइसकेको बताउनुभयो । कँडेलका अनुसार यस मध्ये ५० जना विद्यार्थीहरुलाई राहत वितरण गरिसकेको  छ भने राहत वितरण कार्यलाई भने जारी राखीएको छ । नेपलीज एसोसियसन अफ  भिक्टोरिया, दिदी बहिनी समाज भिक्टोरिया लगायत अन्य नेपाली संघ संस्थाहरुले कोरोना भाइरस विरुद्ध लड्नको लागि सहकार्य गर्दै अघि बढ्नका लागी तत्काल बैठक बस्न लागेको जानकारी समेत कँडेलले गराउनुभयो ।

एनआरएनए न्यु साउथ वेल्सका को-अर्डीनेटर देव गुरुङले न्यु साउर्थ वेल्समा अहिलेसम्म १३८ जनाले फर्म बुझाईसकेको र यस मध्ये २८ जनालाई वितरण गरिसकेको बताउँदै यो माहामारीमा सबै मिलेर सक्दो सहयोग गर्न अनुरोध गर्नुभयो ।

एनआरएनए कुइन्सल्याण्डका को-अर्डीनेटर उमेश खड्काले अहिलेसम्म कुइन्सल्याण्डमा १२२ जनाले फर्म बुझाइसकेको र यसमध्ये ३५ जनालाई सम्पर्क गरेर आबश्यक भए नभएको जानकारी गराइसकेको बताउनुभयो । खडकाका अनुसार १० जनालाई राहत वितरण गरिसकेको बताउँदै सहजताका लागि अन्य नेपाली संघ संघसस्थाहरुसँग बैठक बस्ने क्रम जारीछ ।

एनआरएनए साउथ अस्ट्रेलियाका को -अर्डीनेटर नबिन पन्थले अहिले सम्म साउथ अस्ट्रेलियामा २७ जनाले फर्म बुझाईसकेको र १२ जनालाई वितरण गरिसकेको जानकारी गराउनुभयो । पन्थका अनुसार नेपाली विद्याथीहरुमा आईपरेका अन्य समस्याहरुलाई निराकरण गर्नका लागि बिभिन्न पेशा संग्ग सम्बन्धित संस्थाका प्रतिनिधिहरुसँग सहकार्य गरिरहेको र सकारात्मक सहयोगहरु प्राप्त भईरहेको छ ।

त्यसैगरी एनआरएनए वेस्टर्न अस्ट्रेलियाका को -अर्डीनेटर  कृष्णमान श्रेष्ठले अहिले सम्म वेस्टर्न अस्ट्रेलियामा भर्खरै नेपालबाट आएका २ जना आइसोलेसनमा बसेका नेपालीहरुलाई राहत सामग्री वितरण गरिसकेको र  आइसोलेसनमा बस्नका लागी २ वटा घरको पनि ब्यबस्था गरिएको बताउनुभयो । कोरोना भाइरसबाट प्रभाबित नेपालीहरुको पहिचान गर्नका लागि छिटो र सहज होस् भन्ने उदेश्यले कुइक एक्सन टिम निर्माण गरि काम सुरु गरिसकेको पनि उहाँले बताउनुभयो ।

एनआरएनए तास्मेनियाका को-अर्डीनेटर संदेश परियारले अहिले सम्म तास्मेनियामा ८ जनाले फर्म बुझाईसकेको र फर्म नबुझाई सकेको गरी जम्मा ११ जनालाई आवश्यकता हेरी विभिन्न संस्थाको सहयोगमा राहत वितरण गरिसकेको बताउनुभयो ।

एनआरएनए नर्दन टेरीटोरीका को -अर्डीनेटर हेम पुनले अहिले सम्म १७ जनाले फर्म बुझाईसकेको र ६ जनालाई वितरण गरिसकेको बताउनुभयो ।

एनआरएनए अस्ट्रेलियन क्यापिटल टेरीटोरीका को -अर्डीनेटर चुडामणि सापकोटाले अहिले सम्म अस्ट्रेलियन क्यापिटल टेरीटोरीमा जम्मा ६ जनाले फर्म बुझाईसकेको र २ जनालाई वितरण गरिसकेको बताउँदै त्यहाँ रहेका नेपालीहरुले एक अर्कालाई सहयोग गर्दै आएको पनि बताउनुभयो ।

विश्वभरी द्रुत गतिमा फैलिरहेको यस माहामारीमा सबैले एक जिम्मेवार नागरिकको हैसियतले अस्ट्रेलियन सरकार, नेपाल सरकार लगायत जिम्मेवार निकायहरुले गरेको अनुरोध तथा नियमहरुलाई कटिबद्ध भएर पालना गर्नु पर्ने, विद्यार्थी लगायत अस्ट्रेलियामा बसोबास गर्नु हुने सम्पूर्ण नेपालीहरुलाई संयम भई उच्च सतर्कता अपनाउन, सकेसम्म घर भित्रै रहन, सामाजिक दुरीमा रहन, उचीत स्वास्थ्य बिधिको नियम पालना गर्नका लागि एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशब कंडेलले आह्वान गर्नुभएको छ ।

यो विषम परिस्थितिमा विद्यार्थीहरुका समस्या लगायत स्वास्थ्य बिमाको जानकारी, भिसाका सम्बन्धमा हरेक राज्यमा सम्बन्धित पेशाका अधिकारीहरुसँग सहकार्य गर्दै उहाँहरु मार्फत सुचना प्रदान गर्दै आएको र अस्ट्रेलियामा अध्ययनरत तर हाल नेपालमा रहेका बिधार्थीहरुको बारेमा एनआरएनए अस्ट्रेलियाले सम्बन्धित निकाय सँग पहल गरिरहेको जानकारी गराउनुभयो ।

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङका अनुसार एनआरएनएको आकस्मिक बैठकको निर्णयअनुसार नेपाली विद्यार्थीलाई मध्यनजर गर्दै एक महिना सम्म र अन्यको हकमा पन्ध्र दिन भोजनको प्रवन्ध गर्ने कार्य भइरहेको छ ।


प्रकाशित | १६ चैत्र २०७६, आईतवार १५:५५