साउदी अरबमा पनि प्रतिवन्ध, कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै

गोपाल संग्रौला/काठमाडौं

कोरोनाका कारण नेपालका श्रम गन्तव्य सीमित हुँदै छन् । कतारपछि साउदी अरेबिया सरकारले आइतबारदेखि नयाँसहित नेपालमा बिदामा आउने र बिदा मनाएर फर्कने नेपालीलाई रोक लगाएको छ । आइतबारबाट साउदी अरब सरकारले २ हप्ताका लागि आवतजावतमा रोक लगाएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

श्रम गन्तव्यमा कोरोना संक्रमण बढ्दै गएपछि बिदामा आइ भिसाको म्याद सकिन लागेका नेपाली गन्तव्य मुलुक फर्कन नपाएर रोजगारी नै गुम्ने अवस्थामा पुगेको छन । यसैगरी बिदामा आएकाहरूले पनि श्रम स्वीकृति नवीकरण गर्न सकेका छैनन् । यसैगरी वैदेशिक रोजगार व्यवसायीले यो समयमा ल्याएका रोजगार भिसाको म्याद समाप्त हुने अवस्थामा रहेको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजीत श्रेष्ठले बताए । उनका अनुसार श्रम गन्तव्यमा लामो समयसम्म कोरोनाको संक्रमण रहे ३५ हजार भिसोको म्याद सकिने छ ।

श्रम गन्तव्यबाट नयाँबाहेक नै दैनिक ५ सय नेपाली बिदामा आउने र सोही संख्यामा बिदा मनाए फर्कर्ने नेपालीमा प्रत्यक्ष प्रभाव परेको छ । साउदीस्थित नेपाली दूतावासले सूचना सार्वजनिक गरेर कोरोना भाइरस संक्रमितहरूको संख्या साउदी अरबमा पनि दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा साउदी सरकारले आइतबारबाट हवाई सेवा स्थगन गरेको जनाएको छ । “साउदी सरकारको हवाइ सेवा बन्द गर्ने निर्णयका कारण साउदी फर्कन नसक्नेहरूका लागि २ हप्ताको विशेष विदा दिने निर्णय गरेको पनि साउदी सरकारले जारी गरेको सूचनामा उल्लेख छ,” नेपाली दूतावास साउदी अरेबियाले जारी गरेको सूचनामा उल्लेख छ, “तसर्थ, आगामी दुई हप्ताका लागि साउदीमा रहनुभएका नेपाली नागरिकहरू घर विदामा नेपाल जाने तथा घर विदामा नेपालमा रहेकाहरू नेपालबाट साउदी आउन सक्ने अवस्था नरहेको व्यहोरा अनुरोध छ ।”

नेपालका प्रमुख श्रम गन्तव्य कतार, युएई र मलेसियाले पनि कोरोना भाइरस (कोभिड १९) कारण आवतजावतमा कडाई गरेपछि दैनिक थप नेपाली युवा प्रभावित हुन थालेका छन् । नेपालबाट रोजगारीका जाने ९० प्रतिशत युवा कतार, मलेसिया, साउदी अरब र यूएई जाने आउने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

विशेषगरी कतार, यूएई लगायतका खाडी समन्वय परिषद् (जिसीसी) राष्ट्रहरूमा कोरोना भाइरसको संक्रमण पैmलिएपछि त्यहाँ रहेका नेपालीको आवतजावत कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पनि सुनसान बनेको छ । नेपालबाट रोजगारीका लागि धेरै युवा जाने श्रम गन्तव्य कतारले यस अघि नै आवतजापतमा अस्थायी रूपमा रोक लगाएको छ । यसैगरी यूएईले पनि ३ दिन अघि सूचना सार्वजनिक संक्रमण बढदै गएकोले उच्च सजकता अपनाउन अनुरोध गरेको छ ।

साउदी र ओमान दूतावासद्वारा केही सेवा बन्द

साउदी सरकारले दुई हप्ताका लागि हवाइ सेवा बन्द गरेपछिको परिस्थितिलाई समेत विचार गरी नेपाली राजदूतावास साउदीले दिने तीन प्रकारका सेवा समेत बन्द गरेको छ । यो अवधिमा घरेलु कामदारहरूका लागि जारी गरिने पुनः श्रम स्वीकृति सिफारिस सेवा दूतावासले जारी गर्ने भएको छ ।

यसैगरी, घर विदामा नेपालमा रहेका श्रमिकले यस अवधिमा आफ्ना कफिलहरूलाई सिफारिसका लागि राजदूतावासमा नपठाउन र नेपाली राजदूतावास रियाद तथा दम्माम स्थित जन सम्पर्क अधिकारीबाट हुदै आएका वहिर्गमन आवेदन समेत रोक्का गरिएको छ । दूतावासले हाललाई अकामा नभएका, अकमा नवीकरण नभएका, हुरूब तथा अभिलेख रद्द नभएकाहरूका अवेदनहरू राजदूतावासले संकलन गर्दै आएको सम्बन्धी आवेदन संकलनका कार्यहरू रोकिएको जनाएको छ ।

ओमानस्थित नेपाली दूतावासले समेत सूचना जारी गदै श्रमिकको मागपत्र प्रमाणीकरण तत्कालका लागि रोक्का गरिएको जनाएको छ ।  नेपालमा वैदेशिक रोजगार मुख्य रूपमा जिसीसी राष्ट्रहरू र मलेसियामा केन्द्रित रहेको छ ।

मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेत गरी पाँच राष्ट्रले २०१७-२०१८ मा नेपालको कुल श्रम आप्रवासनको ९२.५ र सन् २०१८-१९ मा ८८.५ प्रतिशत ओगटेको छ । नेपालको वैदेशिक रोजगारका यी श्रम बजारहरूको महत्व, श्रम बजारमा रहेको न्यून विविधता र ती गन्तव्य मुलुकहरूको अर्थतन्त्रमा आउन सक्ने जोखिमबाट नेपाल पूर्णतः प्रभावित हुने देखिएको छ । सन् २०१०-११ मा २.५४ खर्व अमेरिकी डलर रहेको विप्रेषण सन् २०१८-१९ मा आइपुग्दा ८.७९ खर्व पुगेको भएपनि कोरोनाको प्रभाव रही रहे घटने देखिएको छ ।


प्रकाशित | ३ चैत्र २०७६, सोमबार ०९:१७