मुलुकको समृद्धि र विकासको निम्ति २०७५ उल्लेखनीय बर्ष

महेश बस्नेत/प्रतिनिधि सभा सदस्य, क्षेत्र नम्बर २, भक्तपुर

विक्रम सम्बत् २०७६ को पावन अवसरमा समस्त नेपाली नागरिकहरुमा सुख, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछु । बर्ष २०७५ को अन्त्यसँगै नयाँ बर्ष २०७६ को आगमन भएको छ । मुलुकको समृद्धि र विकासको निम्ति बर्ष २०७५ उल्लेखनीय बर्षका रुपमा रहेको अवगत नै छ । खासगरी लामो समयको राजनीतिक संक्रमणकालिन अवस्थालाई अन्त्य गर्दै ऐतिहासिक संविधान सभाबाट निर्माण भएको संविधानलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने पहिलो बर्षका रुपमा २०७५ मा उल्लेखनीय कार्यहरु भएका छन् ।

पहिलोपटक ऐतिहासिक रुपमा जनताबाट प्राप्त स्पष्ट बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले आफ्नो पहिलो बर्षको कार्य सम्पादन गर्दा केही उल्लेखनीय कार्यहरु भएका छन् । खासगरी सरकारका निम्ति बर्ष २०७५ अग्रमन, सफलता र समृद्धिको बर्षको रुपमा रहेको छ । विकासका मजबूद आधारहरु तयार गर्ने कार्यलाई समेत सरकारले प्राथमिकताका साथ योजना अगाडि बढाइरहेको छ । सरकार गठन भएसँगै ‘सुखी नेपाली र समृद्ध नेपाल’ को परिकल्पनासहित दृढ संकल्पका साथ कार्यक्रमहरु अगाडि बढाएको छ । खासगरी योगदानमा आधारित सामाजिक सुरक्षा तथा स्वेदशभित्र रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना र कामलाई सम्मान गर्ने संस्कृतिको विकास गरी रोजगारीका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न प्र्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा हुनु आफैमा सरकारको उल्लेखनीय कार्यका रुपमा लिन सकिन्छ ।

पछिल्लो पटक विश्व बैंकले दक्षिण एशियामा तीब्र आर्थिक विकास गरेको ३ वटा देशमध्ये नेपाल पनि भएको बताएसँगै मुलुक आर्थिक समृद्धिको बाटोबाट अगाडि बढिरहेको पुष्टी हुन्छ । आर्थिक समृद्धिबिना मुलुकको विकास सम्भव छैन भन्ने मूल मान्यतालाई आत्मसाथ गर्दै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई मुलुकमा लगानी गर्न प्रेरित गर्ने हेतुले लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नु, छिमेकी मुलुकसँगको सम्बन्धलाई उचाइमा पु¥याउनु,

व्यापार तथा पारवहनका क्षेत्रमा भएका विगतका सम्झौताहरुलाई व्यवहारिक रुपमा कार्यान्वयनका चरणबाट अगाडि बढाउनु जस्ता महत्वपूर्ण उपलब्धी समेत सरकारले बर्ष २०७५ मा हासिल गरेको छ ।

त्यसो त समग्र मुलुकको विकासलाई जसरी सरकारले प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ, सोही अनुपातमा भक्तपुर जिल्लाको समृद्धि र विकासलाई पनि विशेष प्राथमिकता साथ अगाडि बढाउने कार्य भइरहेको सर्वविदितै छ । खासगरी बर्ष २०७५ मा समृद्ध भक्तपुरको परिकल्पनासहित ठूला–ठूला विकासका आयोजनाहरु समेतलाई अगाडि बढाउने कार्यलाई निरन्तरता दिन सफल भएका छौं । इतिहासमै सबैभन्दा बढी विकासका योजनाहरु बर्ष २०७५ मा भक्तपुर जिल्लाका लागि विनियोजन भइ कार्यआरम्भ हुनु आफैमा खुशीको कुरा हो । यस्ता उत्साहपूर्ण कार्यलाई आगामी बर्षमा पनि निरन्तरता दिइनेछ ।

मूल रुपमा समग्र भक्तपुरको विकास र समृद्धिका आधारहरु तय गर्ने क्रममा सुरक्षित भक्तपुरको परिकल्पनालाई सार्थक बनाउनको निम्ति जिल्लाको मुख्य राजमार्ग अरनिको राजमार्गलाई सुरक्षित र सफा बनाउने अभियानलाई निरन्तरता दिइएको छ भने यसको वैकल्पिक राजमार्गहरु पहिचान गर्ने क्रममा हनुमन्ते र मनोहरा करिडोर निर्माण कार्यलाई तीब्रता दिइएको छ । त्यसको साथै जिल्लाको ऐतिहासिक सभ्यतासँग जोडिएको हनुमन्ते नदी तथा मनोहरालाई स्वच्छ र सफा राख्ने अभियानमा बृहत जनसहभागितालाई समेत अगाडि बढाइको छ ।

संघीय राजधानीसँग जोडिएको भक्तपुर जिल्ला विगतमा विकासका दृष्टिकोणले पछाडि परिरहेको हामी सबैले महसुस गर्दै आएका हौ । जनताबाट प्राप्त गरेको अपार साथ,समर्थन, विश्वासलाई सिरोधार्य गरी अहोरात्र जनपक्षीय विकास निर्माण र सरोकारका क्षेत्रमा दत्तचित्त भएर अगाडि बढ्न पाउँदा मलाई गर्व महसुस भएको छ ।

स्वभाविक रुपमा मुलुकमा जस्तै बर्ष २०७४ भक्तपुर जिल्लाको समृद्धि र विकासको आधार तय गर्ने बर्षका रुपमा रहेको छ । यद्यपि, जिल्लामा समग्र विकासको निम्ति आधार मात्र तय भएको छैन, कतिपय आधारहरु कार्यान्वयनको चरणबाट समेत अगाडि बढिसकेका छन् । खासगरी हनुमन्ते करिडोर निर्माण, राष्ट्रिय प्राणी उद्यान निर्माण, भौतिक संरचनाहरु सडक

तथा पुल निर्माण कार्यले तीब्रता पाएको छ । जिल्लाको सम्पूर्ण क्षेत्रमा भूगोलका आधारमा कुनैपनि विभेद नगरी विकासको प्रतिफल सबै क्षेत्रका नागरिकको पहुँचमा पुग्ने गरी अगाडि बढाइएको छ । साथै अन्तर्राष्ट्रिय स्तरको खेलमैदान र सम्मेलन केन्द्र निर्माणको प्रक्रियालाई
अगाडि बढाइएको छ भने पर्यटकीय सम्भाव्यताको खोजी गर्ने क्रममा जिल्लामा प्याराग्लाइडिङ, भ्यू टावर निर्माण तथा धार्मिक पर्यटनलाई बृद्धि गर्न शिव सर्किटको अवधारणालाई अगाडि बढाइएको छ ।

बर्ष २०७५ मा भक्तपुर जिल्लामा उल्लेखनीय कार्यहरु जसरी अगाडि बढेका छन् । अबको बर्ष यी योजनाहरुलाई सार्थक ढंगले पूरा गर्ने बर्षका रुपमा अगाडि बढ्ने आशा गरेको छु । अघिल्लो बर्षमा तपाईहरुको साथ, समर्थन र सद्भाव जसरी प्राप्त भयो, यसको मुग्धकण्ठले प्रशंसा गर्दै आगामी दिनमा पनि समग्र भक्तपुरको विकास र समृद्धिको हाम्रो अभियानमा यहाँहरुबाट साथ, सहयोग र सद्भाव प्राप्त रहने अपेक्षा सहित, पुनः एकपटक २०७६ सालको स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार १८:५०