क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

काठमाडौं: नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा चन्द अध्यक्षमा विजयी हुनुभएको हो । निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दै प्रतिस्पर्धी पूर्वअध्यक्ष समेत रहिसकेका विनयराज पाण्डेलाई पराजीत गर्नुभयो । पाण्डेले भने १५ मत मात्र पाउनुभयो ।

सत्र सदस्यीय केन्द्रीय समितिका लागि भएको निर्वाचनमा चन्द समूहको प्यानलै विजयी भएको छ । निर्वाचनमा जिल्ला क्रिकेट संघका ३९ र प्रदेशबाट २० प्रतिनिधि गरी ५९ जनाले मतदान गरेका थिए ।

चन्दको समूहबाट निर्वाचनमा सहभागी भएकाहरू उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्यार्कुयाल र कोषाध्यक्षमा रोशनकुमार सिंह विजयी हुनुभयो ।  चार पदाधिकारीबाहेक १३ सदस्य पदका लागि भएको निर्वाचनमा भने ६ जना सदस्य निर्विरोध हुनुभएको छ ।

प्रत्येक प्रदेशबाट एकजना सदस्य निर्वाचित हुने प्रावधान अनुसार प्रदेश २ मा दाउद अन्सारी, प्रदेश ४ मा ऋषि गौतम, प्रदेश ५ मा प्रशान्त विक्रम मल्ल, प्रदेश ६ मा पदम खड्का र प्रदेश ७ विक्रम विष्टको एकल उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको हो । त्यस्तै एक महिला सदस्य पदमा जयन्ती भट्ट एक मात्र महिला सदस्य भएपछि उनी स्वतः निर्विरोध हुनुभयो ।

प्रदेश १ र ३ मा भने दुई–दुई जनाको उम्मेदवारी परेको थियो । जसमा प्रदेश १ सदस्यमा कैलाश विष्ट तथा प्रदेश ३ मा अमितवीर पाण्डे विजयी हुनुभयो । प्रदेशका उम्मेदवारलाई पनि ५९ जना प्रतिनिधिले मतदान गरेका थिए । खुला सदस्यहरूबाट ५ जना चुनिनेमा ११ जनाको उम्मेदवारी परेको थियो । जसमा वीरेन्द्रबहादुर चन्द, दुर्गाराज पाठक, करण महोत्रा क्षेत्री, माधव कुमार कर्माचार्य र संजयराज सिंह विजयी हुनुनभयो ।


प्रकाशित | ११ आश्विन २०७६, शनिबार १९:३६