चीन चाँडै कोरोनामुक्त हुन्छ, नेपालमा समस्या भए पूरा सहयोग गर्छ: राजदुत यान्छी

काठमाडौँ : चिनियाँ राजदूत होउ यान्छीले चीन चाँडै कोरोनामुक्त हुने बताउँदै नेपालमा कोरोनाले समस्या उत्पन्न गराई चीनले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईद्वारा आज मन्त्रालयमै कोरोना भाइरस नियन्त्रणको बिषयलाई लिएर चिनियाँ राजदुतलाई आमन्त्रण गरी गर्नुभएको छलफलका क्रममा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनले गरीरहेको कामको बारेमा जानकारी दिनुभयो ।

राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पीडित भएका करिब ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारीसमेत दिनुभयो । राजदुत यान्छीले चाँडै नै कोरोना भाइरसको सङ्क्रमणबाट चीन मुक्त हुने जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणले देखिएका समस्या र रोकथाम उपयाहरुबारे भएको छलफलमा राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदी नेपालमा समस्या भए नियन्त्रणको लागि चीनको पूरा सहयोग रहने जानकारीसमेत दिनुभयो ।

अन्तराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालहरुमा वेडको व्यबस्थापन, आवश्यक क्वारेन्टाइनको व्यबस्थालगायतका बिषयमा सरकारले गरिरहेको तयारीको बिषयमा मन्त्री भट्टराईले जानकारी दिनुभएको हो ।

मन्त्री भट्टराईले कोरोना भाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताउनुभयो । कोरोना भाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेताना मुलक सूचनाहरु पनि प्रवाह गरिएको उहाँको भनाई थियो ।


प्रकाशित | २७ फाल्गुन २०७६, मंगलवार २०:१३