कोरोना भाइरसको जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी चालियोस: कांग्रेस

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबारे सतर्कताका लागि सरकार र समुदायलाई १४ बुँदे अपील जारी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी १४ बुँदे अपिल जारी गर्नुभएको हो ।कोरोनाबारे सरकार र समुदायलाई १४ बुँदे अपील

१) विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी गरियोस् ।

२) कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले तत्काल रोक लगाइयोस् ।

३) संक्रमण फैलिएका मुलुकहरुसँग नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक दोहोरो उडानमा तत्काल रोक लगाइयोस् ।

४) फागुन १९, सोमबार मध्याह्नसम्मको स्थलगत अध्ययनमा अन्तर्रा्ष्ट्रि«य विमानस्थलको चेकजाँचको प्रक्रिया विलकुलै कामचलाउ प्रकृतिको फितलो देखिनु अत्यन्तै दुःखद र आपत्तिजनक छ । प्रवेशद्वारमा कठोर ढंगको कडाइ गरिएन, तर भाषणका मञ्चबाट सतर्कताको अपील मात्रै जारी गरियो भने स्थिति भयावह हुन सक्दछ । सरकार यो गम्भीरताप्रति व्यवहारत गम्भीर बनोस् ।

५) स्थलमार्गबाट नेपाल प्रवेश गर्ने नाकाहरुमा केरुङको नाकामा कडाइ गरिएको भए पनि अन्य नाका खासगरी तराई–मधेसका सबै सीमा नाकाबाट सोमबार मध्याह्नसम्म निर्वाध प्रवेश जारी छ । ती नाकाहरुमा पनि तत्काल कडाइ शुरु गर्न विशेष स्वास्थ्य जाँच केन्द्र स्थापना गरियोस् ।

६) केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार र राज्यका विभिन्न निकायबीच आवश्यक समन्वय अभिवृद्धि गरेर सम्भावित जोखिम सामना गर्ने कार्ययोजना चुस्त ढंगले अघि बढाइयोस् ।

७) संक्रमण भए नभएको ठहर गर्ने ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला’ मा परीक्षण ‘कीट’ को कमी हुनसक्ने र परीक्षणका लागि दक्ष जनशक्तिको अभाव हुनसक्ने खतरालाई समयमै ध्यान पु¥याइ आवश्यक बन्दोबस्त यथाशीघ्र मिलाइयोस् ।

८) संक्रमण भित्रिएको र फैलिएको खण्डमा स्वास्थ्यकर्मीहरुले जोखिमपूर्ण ढंगले उपचार र उद्दारमा समर्पित हुनुपर्ने स्थिति आउनसक्छ । त्यस्तो जोखिम हुन नदिन एकातर्फ विशेष प्रकृतिको एप्रोन र उपकरणहरुको अभाव हुन नदिन पर्याप्त बन्दोबस्ती गरियोस् र स्वास्थ्यकर्मीहरुलाई विशेष ढंगको प्रोत्साहन र प्रशिक्षणको थालनी गरियोस् ।

९) संक्रमणको खतराले नागरिकमा खासगरी बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक असर न्यून गर्न विशेष ध्यान पु¥याइयोस् ।

१०) मास्कको पर्याप्त प्रबन्ध गर्न सरकारको ध्यान पुगोस् ।

११) संक्रमण भित्रिएर फैलिएका खण्डमा त्यसको नकारात्मक परिणाममध्ये सम्भावित खाद्यान्न संकट हुनसक्नेतर्फ समयमै सरकारको सतर्कता पुगोस् ।

१२) चीनको वुहान शहरबाट १८० नेपालीलाई उद्दार गरेर ल्याउन दुई साता लामो छलफल, अन्यौल र विवाद भएको स्मृति गर्दै दुई थप सतर्कता सरकारलाई गराउँदछौं ।

(क) ठूलो संख्यामा नेपालीहरु रहेकोे दक्षिण कोरिया लगायतका कतिपय देशमा कोरोनाको संक्रमण तीव्र ढंगले फैलिएको छ ।
त्यस्तो देशमा रहेका नेपालीलाई संक्रमणबाट सुरक्षित गर्न र अत्यावश्यक परे उद्दार गर्न के–कस्ता रणनीति अवलम्बन गर्न जरुरी छ, तत्काल विमर्श गरियोस् ।
(ख) वुहानबाट ल्याइएका नेपालीलाई राखिएको क्वारेन्टाइन आगामी दिनमा अपर्याप्त हुनसक्ने खतरालाई दृष्टिगत गर्दै वैकल्पिक दर्जनौं क्वारेन्टाइन निर्माण गर्नुपर्ने दिशामा सरकारले युद्धस्तरमा विषय प्रवेश गरोस् ।

१३) कोरोना संक्रमणबाट पूर्व सतर्कताका लागि व्यापक जनचेतना अभिवृद्धि गर्न आमसञ्चारका माध्यमहरुको समुचित प्रयोग गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याओस् ।

१४) ठूला र समृद्ध राष्ट्रहरु समेत कोरोनासँग जुध्न संघर्षरत रहेको बेला छिमेकीहरुको प्रबन्धले हामी ढुक्क छौं भन्ने प्रकृतिको हास्यास्पद एवं गैह्रजिम्मेवार अभिव्यक्ति र व्यवहार हाम्रा लागि महँगो पर्न सक्दछ । सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर बन्न सरकारलाई अन्तरिम आदेश जारी गरिसकेको छ ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १८:१७