नेपालीलाई हङकङ भिसा खुला गर्न कुटनीतिक पहल गर्ने परराष्ट्रमन्त्रीको आश्वासन

काठमाडौं : परराष्टमन्त्री प्रदीप ज्ञवालीले नेपालीलाई हङकङ भिसा खुला गर्न सक्दो छिटो कुटनीतिक पहल गर्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए), हङकङको टोलीले मन्त्री ज्ञवालीलाई भेट गरि नेपालीलाई हङकङ भिसा खुला गर्न माग गरेपछि मन्त्रीले आफनो तर्फबाट छिटो भन्दा छिटो कुटनीतिक रुपमा पहल गर्ने बताउनुभएको हो ।

नेपालीलार्इ हङकङ भिसा समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै एनआरएनए हङकङ अध्यक्ष राधिका (टिका ) गुरुङ, महासचिव गोर्कण ढकालसहित आइसीसी सदस्य डासु राम पराजुलीले मन्त्री ज्ञवालीलाई ध्यानर्कषण गराएको हो ।

विगत १५ वर्षदेखि नेपालीलाई रोजगारी भिसा हङकङले बन्द गराएको जानकारी गराउँदै टोलीले यसअघि सहज रुपमा भिसा दिँदै आएकोमा केही नेपालीहरुले शरणार्थी बन्ने जस्ता नकारात्मक गरेपछि रोजगारी भिसा बन्द भएको र त्यससबेला हङकङले भने नेपालमा द्धन्द्ध रहेका कारण भिसा बन्द गरेको जानकारी गराएको थियो ।

तर अहिले राजनीतिक परिवर्तन भइसकेको र नेपालमा कुनैपनि द्वन्दको स्थिति नरहेको भन्दै एनआरएनए हङकङले रोजगार भिसा खुलाउनका लागि नेपाल सरकारको तर्फबाट पहल गर्न माग गरेको हो । भिसा समस्या हुनाले नेपालीले पाउने अवसरबाट बञ्चित हुनुपरेको एनआरएनए हङकङका अध्यक्ष राधिका गुरुङ (टिका ) ले बताउनुभयो ।

एनआरएनए हङकङको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले विगतमा परिस्थितिजन्य स्थितिले गर्दा भिसा समस्या रहेको भन्दै सक्दो छिटो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।


प्रकाशित | ९ फाल्गुन २०७६, शुक्रबार १२:१३