पोखराको फेवा–किनारबाट आज नेपाल भ्रमण वर्ष २०२० को ‘सफ्ट लन्चिङ’

पोखरा: नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को ‘सफ्ट लन्चिङ’ आज पर्यटकीय नगरी पोखरामा हुँदै छ । फेवाताल किनारमा एक कार्यक्रममार्फत भ्रमण वर्ष सुरु हुनेछ । नयाँ वर्ष ०७६ को पूर्वसन्ध्यामा सरकारले भ्रमण वर्षको सुरुवात गर्न लागेको हो । पोखराको फेवातालस्थित कोमागाने पार्कमा शनिबार साँझ पाँच बजे विशेष कार्यक्रम गरी भ्रमण वर्ष सुरु हुने नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम कार्यान्वयन समितिका सदस्य एवं नेपाल पर्यटन बोर्डका सदस्य विप्लव पौडेलले जानकारी दिनुभयो । उद्घाटनअघि पोखराको बिरौटाचोक, रत्नचोक र बाराहीचोकबाट विभिन्न झाँकीसहित र्‍याली निकालिने पनि उहाँले बताउनुभयो ।

यसअघि २७ चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमण वर्ष मूल आयोजक समितिको बैठक बसी भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको तयारी भइसकेको छ । यसैगरी, बैठकले भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहने गरी मूल आयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्यलाई नियुक्त गरेको थियो ।

नयाँ पत्रिका दैनिकका अनुसार सरकारले चालू आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रमसँगै बजेटमा सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाउने र २० लाख विदेशी पर्यटक भित्र्याउने उल्लेख गरेको थियो ।

यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल पर्यटन वर्ष’ मनाइएको थियो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछानेका अनुसार यसअघि नेपाल सरकारले सन् २०१७ मा करिब १० लाख र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो २ महिना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन् ।


प्रकाशित | ३० चैत्र २०७५, शनिबार ०९:०७