भ्रमण वर्षलाई सांस्कृतिक स्वागत

भक्तपुर : प्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सांस्कृतिक स्वागत गरेको छ। बुधबारबाट सुरु भ्रमण वर्षको अवसरमा पूर्वसन्ध्यामा मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालिन सांस्कृति सम्पदा पदयात्रा गरिएको थियो। पदयात्राको क्रममा नगरा बाजासँगै विभिन्न सांस्कृतिक प्रदर्शन गरियो।

राजा जितामित्र मल्लले तलेजु भवानीलाई चढाएको ऐतिहासिक नगरा र बडेमानको घन्टा पून्यराम थिमी र हरेराम थिमीले बजाएसँगै सांस्कृतिक नगर संसारभरका पर्यटकलाई स्वागत गर्न आतुर रहेको नगरप्रमुख शुनिल प्रजापतीले बताए। नेपाल भ्रमण वर्षको अवसरमा थन्केर रहेका तीन सय २९ वर्ष लामो ईतिहास बोकेको दुई नगरा ताहा सत्तल (तबा सत्तल) मा अघिल्लो साता मात्रै पुनस्र्थापना गरिएको थियो।

मंगलबार दिउँसो साढे ३ बजे दरबार क्षेत्रको मूलढोकामा बाँसुरी र लाखे प्याँखबाट अतिथीहरूलाई स्वागतपछि उक्त ऐतिहासिक नगरासँगै घन्ट पनि बजाइएको थियो। मल्लकालमा नगरमा हुने कार्यक्रमको सुरुवातमा उक्त नगरा बजाइन्थ्यो।

कला र संस्कृतिले सम्पन्न भक्तपुर नगरमा रहेका दरबार क्षेत्र, टौमढी क्षेत्र, ५५ झ्याले दरबार, सुनढोका, भैरवनाथ मन्दिरलगायत पाटी पौवा, ढुंगेधारा, पोखरीजस्ता थुप्रै जीवन्त पर्यटकीय क्षेत्र रहेको मेयर प्रजापतीले जानकारी दिए।

‘हाम्रा पुर्खाले सिर्जेका ती सम्पदाको दृश्यावलोकन गर्न संसाभरका लाखौं पर्यटक बर्सेनी भक्तपुर आउने गरेका छन्,’ उनले भने, ‘नेपाल भ्रमण वर्षको अवसरमा जतिसक्दो धेरै पर्यटक आउने हामीले विश्वास लिएका छौँ।’आजको नागरिक दैनिकबाट


प्रकाशित | १६ पुष २०७६, बुधबार ०८:४३